काठमाडौं । कामना सेवा विकास बैंकले समावेशी बैंकिङलाई प्रवर्धन गदैं दृष्टिविहीन व्यक्तिहरुलाई बैंकिङ पहुँचसँग जोड्ने उद्देश्यका साथ वित्तीय साक्षरता तथा हस्ताक्षर तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

सर्वोदय परियोजनासँगको सहकार्यमा आयोजित कार्यक्रममा दृष्टिविहीन व्यक्तिहरुलाई वित्तीय साक्षरताको उद्देश्यले दुईदिने कार्यशाला गोष्ठी आयोजना गरी जानकारी प्रदान गरिएको थियो ।

ADVERTISEMENT

कार्यक्रममा बैंकका ब्रान्डिङ तथा सि.एस.आर प्रमुख सुशील पौडेलले बचतको महत्व, व्यक्तिगत बजेट निर्माण, पारिवारिक बजेट निर्माण, आर्थिक अनुशासन, आर्थिक लक्ष्य, भविष्यका लगानीका अवसरहरु, डिजिटल कारोवार, डिजिटल ठगी लगायतका विषयहरुमा वित्तीय साक्षरता प्रदान गर्नुभएको थियो । कार्यक्रममा हस्ताक्षर तालिमलाई विषेश प्राथमिकता दिईएको थियो ।

बैंकिङ कारोबारका क्रममा आवश्यक पर्ने हस्ताक्षरसम्बन्धी व्यावहारिक अभ्यास गराउँदै सहभागीहरूलाई आत्मविश्वासी बनाउने प्रयास गरिएको थियो । तालिमले दृष्टिविहीन व्यक्तिहरूलाई बैंकिङ प्रक्रिया सहज रूपमा प्रयोग गर्न थप सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

कार्यक्रममा ४० जना दृष्टिविहीन व्यक्तिहरूको सहभागिता थियो । बैंकले आगामी दिनहरूमा पनि समावेशी बैंकिङलाई प्रवर्धन गर्दै विभिन्न समुदाय लक्षित वित्तीय सचेतना तथा सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्दै जाने जनाएको छ ।

सर्वोदय परियोजनाका अध्यक्ष युवराज वाग्लेले दृष्टिविहीनहरुलाई कामना सेवा विकास बैंकले समावेशी बैंकिङतर्फ गरिएको पहल तथा हस्ताक्षर तालिमप्रति खुसी व्यक्त गर्दै वित्तीय साक्षरता कार्यक्रम उपयोगी र प्रभावकारी रहेको बताएका छन् । सर्वोदय परियोजनाकै सौगात वाग्ले आफू पनि दृष्टिविहीन भएको र अन्य व्यक्तिहरुले जस्तै बैंकिङ सेवाहरु प्राप्त गरि सुरक्षित रुपले बैंकिङ सेवाहरु उपभोग गरिरहेको बताए ।

कामना सेवा विकास बैंकले दृष्टिविहीनहरूलाई लक्षित गरेर ‘स्वाभिमान बचत खाता’ सञ्चालनमा ल्याएको छ । खाता खोल्ने दृष्टिविहीनहरूले अन्य व्यक्तिहरूले जस्तै मोबाइल बैंकिङ, ए.टि.एम कार्डलगायतका सुविधाहरू प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले उक्त खाता खोल्नका लागि दृष्टिविहीन भएको कारणले अतिरिक्त कुनै पनि कागजात वा अन्य कुनै साक्षी आवश्यक नपर्ने र खाता सञ्चालनसम्बन्धी शर्तहरू ब्रेल लिपिमा समेत उपलब्ध गराउँदै आएको जनाएको छ ।

बैंकका ब्रान्डिङ तथा सि.एस.आर प्रमुख पौडेलले तालिमलाई आगामी दिनमा अझ प्रभावकारी र व्यापक बनाउँदै दृष्टिविहीन व्यक्तिहरूलाई आत्मनिर्भर तथा सहज बैंकिङ अभ्यासतर्फ अभिप्रेरित गर्ने प्रतिबद्धता व्यक्त गरे । बैंकले यस्ता तालिममार्फत वित्तीय पहुँच मात्र होइन, आत्मविश्वास र सामाजिक समावेशितामा समेत सकारात्मक योगदान पुग्ने विश्वास लिएको जनाएको छ ।