काठमाडौं। एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत चितवनको रत्ननगर नगरपालिका–१५ स्थित श्री बिन्देश्वरी आधारभूत विद्यालयलाई विभिन्न शैक्षिक सामग्री सहयोग गरेको छ।
सीमान्तकृत, न्यून आय भएका तथा पिछडिएका वर्गका बालबालिकालाई प्राथमिकतामा राखेर सञ्चालन भइरहेको उक्त विद्यालयमा १२६ भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। विद्यालयले ८५ भन्दा बढी चेपाङ समुदायका विद्यार्थीलाई आवासीय सुविधा सहित खाने–बस्ने व्यवस्था पनि उपलब्ध गराउँदै आएको छ।
विद्यार्थीहरूको पठनपाठनलाई थप सहज बनाउने तथा विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा सहयोग पुर्याउने उद्देश्यले बैंकले झोला तथा अन्य आवश्यक शैक्षिक सामग्री प्रदान गरेको जनाएको छ।
एक विशेष कार्यक्रममा एनआईसी एशिया बैंकका नारायणगढ सर्कल हेड रामकृष्ण काफ्लेले विद्यालयका प्रधानाध्यापक हरि प्रसाद खनाललाई उक्त सामग्री हस्तान्तरण गरेका थिए।
कार्यक्रममा रत्ननगर नगरपालिका–१५ का वडाध्यक्ष आशिक तामाङ, विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
बैंकले उपलब्ध गराएको सहयोगले विद्यार्थीहरूको अध्ययनलाई थप सहज बनाउनुका साथै विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
एनआईसी एशिया बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामाजिक विकासका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।








