काठमाडौं । नेपाल राष्ट्र बैंकले महानगर क्षेत्रभित्र रहेका बैंक शाखा समायोजन वा एकीकरण गर्न सक्ने व्यवस्था लागू गरेपछि वाणिज्य बैंकहरूले शाखा बन्द गर्ने प्रक्रिया तीव्र बनाएका छन् । राष्ट्र बैंकले विद्युतीय भुक्तानी प्रणालीको विस्तार र महानगर क्षेत्रमा अत्यधिक शाखा सञ्जाललाई ध्यानमा राख्दै यस्तो व्यवस्था गरेको हो ।

नयाँ व्यवस्थापछि २० मध्ये १० वाणिज्य बैंकहरूले देशभरका ६ महानगरपालिकाभित्र रहेका १३८ शाखा तथा एक्सटेन्सन काउन्टर बन्द वा समायोजन गर्ने निर्णय गरेका छन् ।

विशेषगरी मर्जरमा गएका बैंकहरू शाखा एकीकरणतर्फ सक्रिय देखिएका छन् । यस क्रममा एनआईसी एशिया बैंकले सबैभन्दा धेरै ४४ शाखा बन्द गरेको छ भने कुमारी बैंकले २५ शाखा समायोजन गरेको छ ।

यस व्यवस्थाअनुसार शाखा समायोजनको ९० दिनअघि सूचना दिनुपर्ने, ग्राहकलाई सेवा बन्द गर्दा शुल्क नलिनुपर्ने र समायोजनपछि राष्ट्र बैंकलाई विवरण पेश गर्नुपर्ने प्रावधान राखिएको छ । अब बैंकहरूले तोकिएका सर्तहरू पूरा गरी महानगरभित्रका शाखा आफैं समायोजन गर्न सक्नेछन् ।

बैंकिङ प्रणालीलाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित ल्याइएको यस नीतिपछि शाखा संरचनामा उल्लेख्य परिवर्तन देखिन थालेको छ ।