काठमाडौँ। फिफा पुरुष फुटबल विश्वकप २०२६ इतिहासकै सबैभन्दा ठूलो र विशेष संस्करण हुँदैछ । यसपटकको विश्वकप भोलि अर्थात् जुन ११ देखि जुलाई १९ सम्म सञ्चालन हुने तालिका छ ।

इतिहासमै पहिलोपटक विश्वकप फुटबल तीनवटा देशहरू अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन् । यसअघि सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा विश्वकप आयोजना गरेका थिए । प्रतियोगिताका खेलहरू यी तीन देशका कुल १६ वटा सहरहरूमा खेलाइनेछ, जसमा सबैभन्दा बढी खेलहरू अमेरिकामा हुनेछन् ।

ADVERTISEMENT

यसपटक फुटबलका हस्तीहरू लियोनल मेसी र रोनाल्डोको अन्तिम खेल हुन सक्ने भएकाले पनि यी दुईको फ्यानहरू कस्ले विश्वकपको बाजी मार्ला भनेर अड्कलबाजी गरिरहेकाछन् । 

४८ टोली र १०४ खेलहरू

यसपटकदेखि फिफाले विश्वकपको संरचनामा ठूलो परिवर्तन गरेको छन् । यसअघिका संस्करणहरूमा ३२ वटा टोली मात्र सहभागी हुने गरेकामा यस वर्षदेखि ४८ वटा देशहरूले विश्वकपमा प्रतिस्पर्धा गर्दैछन् । खेल संख्या टोलीको संख्या बढेसँगै कुल खेल संख्या पनि ६४ बाट बढेर १०४ खेल पुगेको छ ।

ADVERTISEMENT

४८ वटा टोलीहरूलाई १२ वटा समूहमा विभाजन गरिएको छ । समूह चरणबाट शीर्ष दुई टोली र उत्कृष्ट ८ वटा तेस्रो स्थानका टोलीहरू सिधै नयाँ थपिएको राउन्ड अफ ३२  मा प्रवेश गर्नेछन् ।

उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्दै 

विश्वकपको उद्घाटन खेल ऐतिहासिक रंगशाला मेक्सिको सिटीको एस्टाडियो एस्टेकामा आयोजक मेक्सिको र दक्षिण अफ्रिकाबिच हुनेछ । फाइनल खेल भने जुलाई २० विहान अमेरिकाको न्युयोर्क न्युजर्सी स्टेडियममा हुने छ । 

नेपाल समयअनुसार जुन १२, विहान पौन १ बजे, मेक्सिको विरुद्ध दक्षिण अफ्रिका , मक्सिको सिटी स्टेडियम 

पहिलो चरणका केही रोमाञ्चक खेलहरू

यस पटक सुरुवाती चरणमै केही बहुप्रतीक्षित विश्वस्तरीय खेलहरू हुँदैछन् । 

  • ब्राजिल विरूद्ध मोरक्को – जुन १४, समूह सी 
  • जर्मनी विरूद्ध इक्वेडर आइभोरी कोस्ट – समूह इ
  • अर्जेन्टिना विरूद्ध अस्ट्रिया – जुन २२ समूह जे
  • पोर्चुगल विरूद्ध कोलम्बिया – जुन २८ समूह के
  • इङ्ल्यान्ड विरूद्ध क्रोएसिया – जुन १७  समूह एल

मेक्सिको जित्नैपर्ने दबाबमा, दक्षिण अफ्रिकाको भावनात्मक सम्बन्ध

फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा आयोजक मेक्सिको र दक्षिण अफ्रिका) भिड्दै छन्। यो खेल नेपाली समयअनुसार भोलि मध्यरात अर्थात् जुन १२ को बिहान १२ः४५ बजे (जुन ११ को राति) मेक्सिको सिटीको ऐतिहासिक एस्टाडियो एस्टेकामा हँुदैछ 

यो खेल केवल एउटा खेल मात्र नभएर धेरै दृष्टिकोणबाट ऐतिहासिक र रणनीतिक महत्वको छ । यो भिडन्तले सन् २०१० को दक्षिण अफ्रिका विश्वकपको उद्घाटन खेलको सम्झना गराउँछ ।  १६ वर्षअघि जोहानेसबर्गमा भएको उक्त खेल १÷१ को बराबरीमा सकिएको थियो । यसपटक मेक्सिको आफ्नो घरेलु मैदान र लाखौँ समर्थकका माझ त्यो बराबरीको नतिजालाई जितमा बदल्ने दाउमा छ भने दक्षिण अफ्रिका इतिहास दोर्होयाउँदै वा आयोजकलाई स्तब्ध पार्ने दाउमा हुनेछ ।

मेक्सिको सिटी स्टेडियम समुद्र सतहभन्दा करिब २,२०० मिटरको उचाइमा अवस्थित छ । यहाँको पातलो हावामा खेल्न मेक्सिकन खेलाडीहरू अभ्यस्त छन् । घरेलु दर्शकको चर्काै समर्थन र प्राकृतिक वातावरण मेक्सिकोका लागि सबैभन्दा ठूलो प्लस हुने छ । दक्षिण अफ्रिकाका खेलाडीहरूलाई खेलको उत्तरार्ध (अन्तिम ३० मिनेट) मा शारीरिक रूपमा थकाई लाग्न सक्ने र श्वासप्रश्वासमा गाह्रो हुन सक्ने हुनाले उनीहरूले आफ्नो ऊर्जा व्यवस्थापन निकै सोचविचार गरेर गर्नुपर्ने देखिन्छ ।

मेक्सिको प्राविधिक रूपमा उत्कृष्ट

आयोजक हुनुको नाताले मेक्सिकोमाथि यो खेल जित्नै पर्ने ठूलो दबाब छ । मेक्सिको प्राविधिक रूपमा निकै उत्कृष्ट छ । उनीहरू विङ्सबाट तीव्र गतिको काउन्टर अट्याक गर्न र बल पोसेसन आफ्नो नियन्त्रणमा राख्न माहिर छन् । मेक्सिकोले खेलको सुरुवाती १५ मिनेटमै आक्रामक दबाब बनाएर गोल निकाल्ने प्रयास गर्नेछ, ताकि घरेलु दर्शकको ऊर्जा अझ बढोस् र विपक्षी दबाबमा परोस् ।

दक्षिण अफ्रिकालाई प्रमाणित गर्ने मौका

दक्षिण अफ्रिकी टोली यस पटक विश्वकपमा लामो समयपछि फर्किएको छ र उनीहरू आफूलाई प्रमाणित गर्न भोका छन् । दक्षिण अफ्रिकी खेलाडीहरूको शारीरिक सुगठन, गति र रक्षापंक्ति बलियो मानिन्छ । उनीहरू मेक्सिकोका आक्रमणहरू असफल पार्ने रणनीति लिन सक्छन् । मेक्सिकोका खेलाडीहरू अगाडि बढेको मौका छोपेर ुलामो पासमार्फत काउन्टर अट्याकमा गोल गर्ने दाउमा दक्षिण अफ्रिका रहन सक्छ । 

यस समूहमा मेक्सिको र दक्षिण अफ्रिकाबाहेक दक्षिण कोरिया र चेक गणतन्त्र जस्ता बलिया टोलीहरू छन् । समूह चरण पार गर्नका लागि पहिलो खेलको नतिजा निर्णायक हुन्छ । यस खेलमा जित निकाल्ने टोलीका लागि राउन्ड अफ ३२ को बाटो सहज हुनेछ । यदि खेल बराबरीमा सकिएमा बाँकी दुई खेलहरू दुवै टोलीका लागि गर या मर को अवस्थामा पुग्नेछन्  । 

मेक्सिको घरेलु मैदान र अनुभवका कारण केही बलियो देखिए पनि उद्घाटन खेलको आफ्नै दबाब हुन्छ । विश्वकपका उद्घाटन खेलहरू सधैँ अप्रत्यासित हुने गरेका छन् । यदि दक्षिण अफ्रिकाले सुरुवाती आधा घण्टा मेक्सिकोलाई गोल गर्नबाट रोक्न सक्यो भने खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने निश्चित छ ।