वासिङ्टन डिसी — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकताको अधिकार सीमित गर्ने उद्देश्यसहित दुई नयाँ कार्यकारिणी आदेशमा हस्ताक्षर गरेका छन्।
अमेरिकी सर्वोच्च अदालतले यसअघि जन्मसिद्ध नागरिकता खारेज गर्ने प्रयासलाई अस्वीकार गरेको केही सातापछि ट्रम्पले पुनः उक्त अधिकारमा कटौती गर्ने पहल गरेका हुन्।
पहिलो आदेशले गैर–नागरिक अभिभावकका सन्तानलाई जन्मसिद्ध नागरिकता प्राप्त हुने दायरालाई थप संकुचित गरेको छ। आदेशअनुसार बाबुआमा दुवै गैर–नागरिक भएको र उनीहरूमध्ये कम्तीमा एक जना विदेशी समूहको सदस्य, विदेशी सरकारको कर्मचारी, जालसाजीपूर्ण रूपमा नागरिकता लिन खोजेको वा सङ्घीय कानुनले नागरिकता नदिने अमेरिकी क्षेत्रमा बसोबास गरिरहेको अवस्थामा अमेरिकामा जन्मिने शिशुले स्वतः अमेरिकी नागरिकता नपाउने व्यवस्था गरिएको छ।
दोस्रो आदेशमार्फत नागरिकता दिलाउने उद्देश्यले अमेरिका पुगेर बच्चा जन्माउने ‘बर्थ टुरिजम’ माथि पूर्ण प्रतिबन्ध लगाइएको छ।
ओभल अफिसबाट सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले यो नीति वर्षौँअघि नै परिवर्तन हुनुपर्ने दाबी गर्दै आफ्नो प्रशासनले अमेरिकी नागरिकता प्रणालीको दुरुपयोग रोक्न कदम चालेको बताए।
ट्रम्प प्रशासनले लामो समयदेखि ‘बर्थ टुरिजम’को विरोध गर्दै आएको छ। विशेषगरी रुस र चीनजस्ता देशहरूले यस व्यवस्थाको दुरुपयोग गरिरहेको आरोप प्रशासनले लगाउँदै आएको छ। ट्रम्पले ‘बर्थ टुरिजम’का माध्यमबाट अमेरिकामा लाखौँ बालबालिका जन्मिएको दाबीसमेत गरेका छन्।




