काठमाडौं। अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ। विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार डिपोर्ट गरिएका सबै नेपाली नागरिक काठमाडौँ आइपुगिसकेका छन्।

महानिर्देशक तिवारीले अमेरिकाले चार्टर्ड विमानमार्फत ती नेपाली नागरिकलाई काठमाडौँ ल्याएर छाडेको जानकारी दिए। उनका अनुसार पछिल्लो समयसम्म अमेरिकाबाट डिपोर्ट हुने नेपाली नागरिकको संख्या ४०० नाघिसकेको छ।

अध्यागमन विभागका अनुसार डिपोर्ट गरिएका व्यक्तिहरू कागजात नपुगेका, गैरकानुनी रूपमा बसोबास गरेका तथा अध्यागमन कानुन उल्लङ्घन गरेका कारण अमेरिका सरकारले फिर्ता पठाएको हो।

डिपोर्ट भई आएका व्यक्तिहरूमाथि हाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको विभागले जनाएको छ। यदि कोही मानव बेचबिखनको सिकार भएको पाइएमा उजुरी दिन ब्युरोले सम्बन्धित व्यक्तिहरूलाई अनुरोध गरेको छ।आवश्यक अनुसन्धान सम्पन्न भएपछि उनीहरूलाई परिवारको जिम्मा लगाइने प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ।