काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने तोकिएको समयसीमा बिहीबार मध्यराति १२ बजेदेखि सकिँदै छ ।

महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले निर्धारित समयावधि जेठ २८ गते राति १२ बजेसम्म रहेको जानकारी दिँदै समयमै प्रक्रिया पूरा गर्न अपिल गरेका छन् ।

ADVERTISEMENT

उनका अनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल सात लाख ८२ हजार २०९ जना सदस्यमध्ये हालसम्म चार लाख ५७ हजार ३६६ जनाले सदस्यता परिचय नम्बर प्राप्त गरिसकेका छन् । एक लाख २४ हजार ७४८ जनाले स्वयं विवरण भरी अद्यावधिक प्रक्रियामा रहेका छन् ।

सम्बन्धित सबै क्रियाशील सदस्यलाई तोकिएको समयसीमाभित्र आफ्नो सदस्यता अद्यावधिक कार्य सम्पन्न गर्न आग्रह गरिएको छ । आज तोकिएको समयसम्म क्रियाशील सदस्यता अद्यावधिक नगरेमा आगामी महाधिवेशनमा भाग लिन नपाइने कांग्रेसले स्पष्ट गरेको छ ।

ADVERTISEMENT

कांग्रेस इतर पक्ष््राले भने गम्भीर ढंगले एकता कायम राख्न आग्रह गरेको छ । इतर पक्षका नेता प्रकाशशरण महतले बिहीबार बिहान सञ्चारकर्मीसँगको भेटघाटमा अहिले देशैभरि एउटा मनोवैज्ञानिक खाडल विद्यमान रहेको भन्दै पार्टीलाई झन् कमजोर बनाउन नहुने बताए ।

‘अहिलेको सबैभन्दा ठूलो आवश्यकता भनेको पार्टीको बृहत्तर एकता हो। त्यो बृहत्तर एकता भएन भने नेपाली जनताको सबैभन्दा भरपर्दो र लोकप्रिय पार्टीका रूपमा कांग्रेसलाई पुनःस्थापित गर्ने हाम्रो अभियान कमजोर हुन्छ। त्यसैले अहिले प्राविधिक रूपमा आधिकारिकता प्राप्त गर्नुभएका गगनजीहरू (वर्तमान नेतृत्व) बाट एकताका लागि गम्भीर पहल हुन जरुरी छ,’ उनले भने ।

बृहत्तर एकताका लागि १५औँ महाधिवेशनको निष्पक्षता, पारदर्शिता, स्वामित्व र सहभागिता सुनिश्चित हुन जरुरी रहेको उनले बताएका छन् । नियमित अधिवेशनको नेतृत्व गरिरहेका साथीहरू र विशेष अधिवेशनबाट निर्वाचित भएका साथीहरूबीच एउटा प्रस्ट समझदारी बन्नुपर्ने उनको सुझाव छ ।

‘हामीले अहिले कुनै ठूलो भागबन्डाको कुरा गरेका छैनौँ। हामीले केवल १५औँ महाधिवेशन निष्पक्ष हुने सुरक्षितताको ग्यारेन्टी खोजेका हौँ। त्यसका लागि दुवै पक्ष बसेर एउटा साझा सहमतिको संयन्त्र बनाउनुपर्छ। १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियालाई अगाडि बढाउने, क्रियाशील सदस्यताको विवाद समाधान गर्ने र विधान संशोधनका विषयहरू टुङ्ग्याउनुपर्छ,’ उनले भने ।

१४औँ महाधिवेशनको समिति र यो विशेष महाधिवेशनबाट आएको समितिलाई समायोजन गरेर वा एउटा सानो साझा संयन्त्र बनाएर यी कामहरू गरिनुपर्ने उनले सुझाव दिए ।