काठमाडौं । नेकपा एमाले प्रतिनिधिसभा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले देश गम्भीर राष्ट्रिय संकटको भूमरीमा फसेको बताएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले वर्तमान संकट दुई प्रमुख राजनीतिक घटनाक्रमबाट उत्पन्न भएको दाबी गरे।
‘आज देश गम्भीर राष्ट्रिय संकटको भूमरीमा फसेको छ। यो संकट दुइटा परिघटनाबाट उत्पन्न भएको हाम्रो ठहर छ,’ बादलले संसद्मा भने।
उनले जेठ १७ गते प्रधानमन्त्री बालेन शाहले संसद्मा दिएको भारतसँग सम्बन्धित अभिव्यक्तिलाई संकटको पहिलो कारणका रूपमा उल्लेख गरे। ‘प्रधानमन्त्रीले नेपालको भारतको जग्गा मिचिएको भन्ने अभिव्यक्ति दिनुभयो। त्यही घोषणाबाट यो संकट सुरु भएको हो,’ उनले भने।
बादलले उक्त अभिव्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणमा जानुअघि आएको भन्दै त्यसलाई अर्को राजनीतिक घटनासँग जोडे। उनका अनुसार लामिछानेले दिल्ली भ्रमणका क्रममा ‘हामी विगतका बोझ लिएर अगाडि बढ्न चाहँदैनौं’ भन्ने अभिव्यक्ति दिएपछि संकट झन् गहिरिएको छ।
उनले पछिल्ला राजनीतिक घटनाक्रमलाई भदौ २३ र २४ गतेको आन्दोलन, संसद् विघटन र नयाँ सरकार गठनसँग समेत जोडेर हेर्नुपर्ने बताए। ‘त्यो बेला एक जनप्रतिनिधिले अर्को जनप्रतिनिधिलाई मन्त्री बन्न दूतावासको अनुमति लिनुपर्छ भन्ने कुरा आएको थियो,’ उनले स्मरण गरे।
रास्वपाका तत्कालीन महासचिव मुकुल ढकालले सार्वजनिक गरेको दाबी उल्लेख गर्दै बादलले केही शीर्ष नेताले प्रधानमन्त्री बन्न विदेशी नेतृत्वसँग सम्झौता गर्न तयार रहेको सन्देश पठाएको विषय पनि स्मरण गराए।
‘ती सबै घटनालाई जोडेर हेर्दा अहिलेको संकटको स्रोत कहाँ छ भन्ने स्पष्ट हुन्छ,’ उनले भने।
बादलले वर्तमान राजनीतिक गतिरोधको समाधान प्रधानमन्त्री बालेन शाह, रास्वपा सभापति रवि लामिछाने र सभामुख डोलप्रसाद अर्यालको हातमा रहेको बताए।
उनका अनुसार प्रधानमन्त्री शाहले संसद्मा आएर आफ्नो अभिव्यक्ति फिर्ता लिएर माफी माग्नुपर्ने, वा रास्वपा सभापति लामिछानेले प्रधानमन्त्रीलाई माफी माग्न आग्रह गर्नुपर्ने, अथवा सभामुखले विवादित अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउनुपर्ने विकल्प रहेको छ।
‘यीमध्ये कुनै एक कदम चालिए राष्ट्रिय सहमतिको वातावरण बन्न सक्छ,’ बादलको भनाइ थियो।








