काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी भएर प्रधानमन्त्री वालेन्द्र शाह शनिबार स्वदेश फर्किएका छन्।
कतारको दोहा हुँदै काठमाडौं आइपुगेका प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ र पर्यटनमन्त्री खडक राज पौडेल (गनेस)ले स्वागत गरेका छन्।

तीन मन्त्री प्रधानमन्त्रीको स्वागतका लागि विमानस्थल पुगे पनि विगतमा प्रधानमन्त्री स्वदेश फर्किँदा देखिने गरेको औपचारिक तामझाम भने यसपटक देखिएन। प्रधानमन्त्री शाह विदेश प्रस्थान गर्दा पनि औपचारिक बिदाइ समारोह, गार्ड अफ अनर तथा रेड कार्पेटको व्यवस्था गरिएको थिएन।

प्रधानमन्त्री शाह असोज ६ गते १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क गएका थिए। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो।
न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता गरेका थिए। त्यसपछि उनले महासभालाई नेपालको तर्फबाट सम्बोधन गरेका थिए।

महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालमा पछिल्लो समय देखिएको जलवायुजन्य विपत्तिको विषयलाई प्रमुखताका साथ उठाएका थिए। उनले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीलाई ‘हिमालयको सुनामी’का रूपमा प्रस्तुत गर्दै जलवायु परिवर्तनको जोखिमलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई आग्रह गरेका थिए।

नेपालले विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान गरे पनि जलवायु परिवर्तनको ठूलो मूल्य चुकाइरहेको उनको भनाइ थियो। हिमनदी पग्लिने, पहाडी ढलान अस्थिर हुने, बाढी तथा पहिरोको जोखिम बढ्ने र त्यसबाट जनधन तथा पूर्वाधारमा हुने क्षतिका विषय उनले अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाएका थिए।








