काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सांसदको भूमिका र योगदानलाई ‘एभरेज’, ‘एभरेजभन्दा तल’ र ‘एक्स्ट्रा अर्डिनरी’ गरी तीन तहमा वर्गीकरण गर्दै इन्जिनियरिङ पृष्ठभूमिका सांसदलाई नयाँ सोच र सिर्जनशील योजनामा केन्द्रित हुन आग्रह गरेका छन्।
बुधबार इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले सांसदले संसद्मा केवल कार्यक्रम र आयोजनाको कुरा उठाउनेभन्दा देश विकासका लागि नयाँ विचार र ठोस योजना अघि सार्नुपर्ने बताएका हुन्। छलफलमा सहभागी एक सांसदका अनुसार शाहले सांसदहरूको क्षमता र योगदानको प्रसंगमा यस्तो वर्गीकरण गरेका थिए।
उनका अनुसार प्रधानमन्त्री शाहले ‘एभरेज’ सांसदले कार्यक्रम र आयोजनाका विषय उठाउने, त्यसभन्दा तलको तहका सांसदले सरकार वा सम्बन्धित निकायलाई काम गर्न निर्देशन दिने र ‘एक्स्ट्रा अर्डिनरी’ सांसदले नयाँ विचार, सिर्जनशीलता तथा देश विकासका योजना प्रस्तुत गर्नुपर्ने बताएका थिए।
शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदलाई ‘एक्स्ट्रा अर्डिनरी’को उदाहरणका रूपमा प्रस्तुत गर्दै भनेका थिए, ‘इन्जिनियर भनेको एक्स्ट्रा अर्डिनरी हो। एभरेज मान्छेहरू इभेन्टको कुरा गर्छन्। त्योभन्दा तलकोले मलाई यो गर, त्यो गर भन्छन्।’
उनले थपे, ‘एक्स्ट्रा अर्डिनरी भएकाले तपाईंहरूले आइडिया र क्रियटिभिटीको कुरा उठाउनुपर्छ। यो गरे देश बन्छ भनेर भन्नुपर्छ। तपाईंहरूको आइडियाले देश बन्छ।’
प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूलाई औद्योगिकीकरणका लागि आवश्यक नीति, योजना र कामबारे नयाँ अवधारणा प्रस्तुत गर्न आग्रह गरेका थिए।
संसद्मा उठेका विषयमा सम्बन्धित मन्त्रालय, मन्त्री, प्रधानमन्त्री कार्यालय र मन्त्रिपरिषद् कार्यालयसँग समन्वय गर्न सकिने बताउँदै उनले नयाँ विचारसहित आउने सांसदसँग आफू सहज रूपमा छलफल गर्न तयार रहेको बताएका थिए।
छलफलका क्रममा शाहले केही नयाँ विधेयक आउने तयारीमा रहेको जानकारी दिँदै त्यसमा सांसदहरूको सुझाव र सहयोग आवश्यक पर्ने बताएका थिए। सांसदहरूले आफ्नो अनुभव र देखे–भोगेका विषयलाई कानुन निर्माणमा उपयोग गर्न सक्ने उनको भनाइ थियो।







