काठमाडौँ । विपक्षी दलहरूको अवरोध हटेसँगै प्रतिनिधिसभा बैठक निर्धारित समयभन्दा एक घण्टा ढिला सुरु भएको छ । बुधबार अपराह्न २ बजेका लागि निर्धारण गरिएको बैठक ३ः१५ बजे सुरु भएको हो ।
प्रधानमन्त्री वालेन्द्र शाहले जेठ १७ गतेको बैठकमा नेपाल–भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर विपक्षीहरूले यसबीचका बैठकहरू अवरुद्ध गर्दै आएकामा सरकारका तर्फबाट त्यस विषयमा आजको बैठकमा प्रष्ट पारिने समझदारीपश्चात् बैठक सुरु भएको हो । बैठकमा अहिले आकस्मिक समयमा सांसदहरूले समसामयिक विषयमा ध्यानाकर्षण गराइरहेका छन् ।
बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८३–०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
बैठकमा आव २०८३–०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुने र छलफलका क्रममा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने कार्यसूची छ ।
बैठकको आकस्मिक समयमा सांसदहरूले मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी तथा धर्मान्तरणलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद ज्ञानु पौडेलले भारतबाट उद्धार गरिएका ४५३ नेपाली नागरिकको विषय उठाउँदै मानव तस्करीको जालोमा नेपाली युवायुवतीहरू फसिरहेको बताए । उनले भारतका विभिन्न स्थानबाट ४० जिल्लाका ४५३ नेपालीको सफल उद्धार गरी नेपाल ल्याइएको र हाल घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
सांसद बलावती शर्माले महिलामाथि हुने हिंसाका घटना बढ्दै गएको भन्दै त्यसको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरिन् । उनले हिंसापीडित महिलाहरू प्रहरीमा उजुरी दिनसमेत डराउने अवस्था रहेको र उजुरी दिएपछि पनि अपेक्षित सुनुवाइ नहुने समस्या विद्यमान रहेको बताइन् ।
सांसद आरेन राईले इजरायल केयरगिभरको परीक्षा स्थगित हुँदा हजारौँ परीक्षार्थी अन्योलमा परेको बताए । उनले परीक्षासम्बन्धी अन्योल चाँडै अन्त्य गरी परीक्षार्थीको भविष्यप्रति संवेदनशील हुन सरकारसँग आग्रह गरे ।
सांसद खुश्बु ओलीले कसैलाई पनि जबर्जस्ती धर्मान्तरण गराउने कार्य स्वीकार्य नहुने बताइन् । उनले नेपालको संविधान र कानुनले व्यवस्था गरेको धार्मिक स्वतन्त्रताको सम्मान गर्दै बलपूर्वक वा प्रलोभनमा पारेर धर्म परिवर्तन गराउने गतिविधि रोक्न सरकारलाई आवश्यक कदम चाल्न आग्रह गरिन् ।












