काठमाडौं । प्रतिनिधिसभाको बैठक आजपछि करिब दुई साताका लागि स्थगित हुने भएको छ। प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको सहमतिअनुसार अर्को बैठक साउन १४ गते बस्ने तय भएको छ।
आजको बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उक्त सहमति भएको हो। बैठकका लागि समितिको छलफल राखिएकाले बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधिसभा बैठक दिउँसो १ बजे सारिएको थियो।
आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले प्रधानमन्त्रीको तर्फबाट राष्ट्रिय मानव अधिकार आयोगको अठारौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ। साथै राष्ट्रिय सूचना आयोग र राष्ट्रिय समावेशी आयोगका वार्षिक प्रतिवेदन पनि सदनमा प्रस्तुत गरिनेछ।
यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थसम्बन्धी केही नेपाल कानुन संशोधन तथा खारेजसम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्। बैठकमा अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) का बाध्यकारी श्रम महासन्धी र श्रम निरीक्षणसम्बन्धी महासन्धीमाथि छलफल तथा अनुमोदन गर्ने कार्यसूची पनि रहेको छ।












