काठमाडौँ । अब प्रत्येक महिनाको एकपटक प्रधानमन्त्रीले संसदमा सम्बोचन गर्ने भएका छन् । प्रतिनिधिसभा नियमावलीमै संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था गरिएको हो ।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा सांसदसँग प्रश्नोत्तरको व्यवस्था गरिएको छ । नियमावली पारित भएपछि प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा प्रत्येक महिना सम्बोधन गर्नेछन् ।
प्रतिनिधिसभा नियमावली रास्वपा सांसद गणेश पराजुलीको संयोजकत्वको मस्यौदा समितिले तयार पारेको हो । मंगलबार आफ्नो प्रतिवेदन सभामुख डोलप्रसाद अर्याललाई बुझाएको छ ।
नियमावली नबन्दासम्म यसअघिको नियमावलीलाई अन्तरिम नियमावली मानेर प्रतिनिधिसभाको बैठक सञ्चालन भएको थियो ।
अबदेखि प्रतिनिधिसभाको बैठकमा फोटो खिच्न, अडियो र भिडियो रेकर्ड गर्न नपाइने भएको छ । प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीको मस्यौदामा यस्तो व्यवस्था गरिएको हो ।
नियमावलीको नियम २० मा यो व्यवस्था गरिएको छ । सो नियमको बैठकमा पालन गर्नुपर्ने नियम शीर्षकको उपनियम (ट) मा लेखिएको छ, ‘बैठक कक्षमा फोन साइलेन्ट अवस्थामा राख्नुपर्ने, फोनमा कुरा गर्न, फोटो खिच्ने तथा अडियो र भिडियो रेकर्ड गर्न नहुने ।’ यसअघिको कार्यसञ्चालन नियमावलीमा यो व्यवस्था थिएन।







