काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विजयी सुरुवात गरेको छ। कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स १९.३ ओभरमा ११३ रनमै अलआउट भयो।
जनकपुरका अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए। कप्तान हर्मीत सिंह र मोइन अलीले समान १९ रन जोड्दा जिम्मी निशमले १५ र मायन यादवले १४ रन बनाए। अनिलकुमार शाहले ११ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
कर्णालीको जितमा युनिस ठकुरी र हुसेन तलतले समान तीन विकेट लिए। युनिसले चार ओभरमा एक मेडन राख्दै तीन विकेट लिए। उनले एउटै ओभरमा जनकपुरका कप्तान हर्मीत सिंह र जिम्मी निशमलाई आउट गरेका थिए। नन्दन यादवले दुई तथा सोमपाल कामीले एक विकेट लिए।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३२ रन बनाएको थियो। ओपनर अरिफुल इस्लामले २९ बलमा चार चौकासहित सर्वाधिक ४३ रन बनाए। पवन सर्राफले ३७ रन जोड्दा दुवैले चौथो विकेटका लागि ४२ रनको साझेदारी गरेका थिए।
कर्णालीका अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्। जनकपुरका कप्तान हर्मीत सिंहले तीन विकेट लिए। मोइन अली र राहुल यादवले समान दुई तथा ललित राजवंशीले एक विकेट लिए।
एनपीएलअन्तर्गत मंगलबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच साँझ ५ बजे प्रतिस्पर्धा हुनेछ।








