काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै ‘क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गर्ने निर्णय गरेको छ।
बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले योग्य, इमानदार र सक्षम उम्मेदवार छनोट प्रक्रियाको पहिलो चरणका रूपमा भदौ १ गतेदेखि ‘क्यान्डिडेट क्लब’का लागि आवेदन खुला गर्ने निर्णय गरेको हो।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यका अनुसार स्थानीय तह निर्वाचनका सम्भावित उम्मेदवारको पहिचान, तयारी र मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन ‘क्यान्डिडेट क्लब’ अवधारणा अघि सारिएको हो।
रास्वपाले यस कार्यक्रममार्फत आगामी स्थानीय तह निर्वाचनका लागि सक्षम र योग्य उम्मेदवार छनोट प्रक्रियालाई संस्थागत बनाउने लक्ष्य लिएको जनाएको छ।







