काठमाडौं । तीन महिनापछि बुधबार सार्वजनिक कार्यक्रममा देखापरेका एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपति, कार्कीदेखि नेपाली सेनासम्मको भूमिकाप्रति प्रश्न उठाएका छन् ।
बुधबार पार्टीको केन्द्रीय संगठन विभागले आयोजना गरेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने कार्यक्रममा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाबारे कडा रोष प्रकट गरेका हुन् ।
‘सम्माननीय राष्ट्रपतिले बडो जुक्तिले लोकतन्त्र जोगाएँ भन्नुभयो । तर, उहाँ भदौ २३ र २४ गते यता हरेकपटक संविधानविरुद्धका काममा रबर स्ट्याम्प बनिरहनु भएको छ,’ ओलीले भने, ‘अहिले लोकतन्त्र समाप्त पार्न बडो जुक्ति लागिरहेको छ । उहाँ पनि फस्दै हुनुहुन्छ ।’
ओलीले जेनजी आन्दोनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले आफूले नदिएको बयान छापेको बताएका छन् ।

निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा बोलेका ओलीले आफूले आयोगलाई मान्यता नै नदिएको बताए । ‘भदौ २३ गते नै ककसलाई जेल हाल्नुपर्छ भन्दै हिँडेका व्यक्ति गौरीबहादुर कार्की नेतृत्वको आयोलाई हामीले मान्यता नै दिएको छैन,’ उनले भने, ‘जसले पहिल्यै आफ्नो योजना सार्वजनिक गरेको छ, त्यसकै नेतृत्वमा आयोग बनाएर न्याय निरपण हुन्छ ?’
आयोगले प्रतिष्ठाका लागि मात्र बयान भनेर छापेको उनले बताए । यद्यपि, यसबारेको लफडामा आफू नपर्ने उनले बताए । ‘अरुले जेसुकै गरुन् मैले बयान दिएको छैन,’ ओलीले भने, ‘आयोगले प्रश्न लेखेर पठाएको थियो, मैले जवाफ लेखेको छैन । मेरो जवाफ भनेर छाप्यो- उसको इज्जतका लागि ।’
ओलीले आफ्नो घरमा आगो लगाउनेको खोजी नगर्ने सरकारले आफूसँग सम्पत्ति विवरण मागेको भन्दै आक्रोश पोखेका छन् । ‘मेरो घरमा आगो लगाएर खरानी बनाएको छ । अब सम्पत्ति विवरण फारम भर्नुपर्यो अरे,’ ओलीले भने, ‘खरानी उठाएर लैजा सरकार ।’
आफूहरूले निर्वाचन परिणाम भने स्वीकारेको उनको भनाइ छ । ‘हामीले निर्वाचनको परिणाम स्वीकारेका छौँ । हामी अन्धविश्वासमा होइन आँखा खोलेर सबै चीजहरू हेर्छौं,’ उनले भने । ओलीले निर्वाचन परिणाम पहिले नै फिक्स भइसकेको, फागुन २१ मा नाटक मञ्चन भएको दाबी गरे ।

ओलीले सरकारलाई उत्ताउलो नबन्न सुझाव दिए । ‘राणा शासन ढले, पञ्चायती तानाशाही ढले, राजतन्त्र ढले,’ ओलीले भने, ‘यो अराजकतन्त्र कति समयको पाहुना हो । यो अराजकतन्त्र धेरै चल्न सक्दैन ।’
ओलीले सेनाको भूमिकाप्रति प्रश्न गरे । सेनाले सिंहदरबारसमेत जोगाउन नसकेको उनको भनाइ छ । ‘सेनाले सिंहदरबार त जोगाउन सकेन । एमालेले के सक्थ्यो,’ उनले भने ।









