काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले देशमा भएका अन्योलता र भ्रमलाई चिर्ने बताएका छन्। काठमाडौंमा आयोजित पार्टी सदस्यता नवीकरण तथा अभिप्रेरणासम्बन्धी राष्ट्रिय कार्यशालालाई बुधबार सम्बोधन गर्दै दुई दिने भेलाले नयाँ जोश र विश्वासका साथ कार्यक्षेत्रमा फर्कने प्रेरणा दिने बताए।

ओलीले संगठनलाई चुनौतीको सामना गर्न सक्ने गरी अगाडि बढ्नुपर्ने बताए। उनले चुनावी हारको आत्मसमीक्षा गरेर अगाडि बढ्ने तर नेतृत्व नछाड्ने पनि बताए। चुनावमा लज्जास्पद नतिजा बेहोरेपछि ओली तीन महिनापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका हुन् । ओलीले अब पूर्ववत् सक्रिय राजनीति अघि बढाउने घोषणा गरेका छन् ।

ADVERTISEMENT

पार्टीमा आफ्नै समूहका नेताहरुले ओलीलाई नेतृत्व छाड्न दबाब दिँदै आएका छन् । तर ओलीले अर्को चुनावसम्म पनि आफैंले नेतृत्व गरेर अघि बढ्ने बताएका छन् ।

ओलीले रास्वपा नेतृत्वको सरकारलाई उत्ताउलो व्यवहार नदेखाउन चेतावनी दिए। उनले समय सधैँ एकनासको नरहने भन्दै उत्ताउलिएर धेरै अघि नबढ्न सरकारलाई चेतावनी दिएका हुन्।

‘सधैँ एउटै परिस्थिति रहँदैन। राणाशासन ढल्यो। पञ्चायती तानाशाही ढल्यो। राजतन्त्र ढल्यो। अनेक तन्त्रहरू ढले’, उनले भने, ‘यो यो अराजकतन्त्र कति समयको पाहुना हो। यो अराजकतन्त्र लामो समय चल्न सक्दैन।

ओलीले आफूहरुको सरकारलाई ध्वस्त पार्ने कोशिस असफल भएपछि अवैधानिक र षडयन्त्रपूर्ण तरिकाले विस्थापित गर्ने काम गरिएको बताए । उनले त्यसका निम्ति पहिले पहिलेदेखि तालिमहरु भएको समेत आरोप लगाए । उनले आगो कसरी लगाउने, अत्यन्त प्रज्वलनशिल वस्तुहरु कसरी बनाउने ? पेट्रोल बम कसरी बनाउने ? छिटो आगो लगाउने भन्ने जस्ता कुराहरु, राष्ट्रयव्यापी रुपमा आगलागीका घटना कसरी गराउने भन्ने पूरै तयारी गरिएको बताए ।

एमालेको दुई दिने ‘सदस्यता नवीकरण तथा विस्तार-उत्प्रेरणा कार्यशाला’ को उद्घाटन सत्र सुरु भएको छ । उपाध्यक्ष रामबहादुर थापा बादलको अनुपस्थितिमा शंकर पोख्रेल र बिष्णु पौडेललाई दायाँबायाँ राखेर ओलीले कार्यशाला उद्घाटन गरेका हुन् ।

आयोजक समितिका प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा भइरहेको कार्यशालामा उपाध्यक्षहरु विष्णु पौडेल, रघुजी पन्त,उपमहासचिव योगेश भट्टराई,सचिवहरु शेरधन राई,महेश बस्नेत,खगराज अधिकारी,हिक्मत गुरुङ्ग,राजन भट्टराई उपस्थित छन् ।

त्यसैगरी, केन्द्रीय सदस्य पार्वत गुरुङ, पदम गिरी, नीति विभागका प्रमुख विष्णु रिमाल, जिल्ला–प्रदेश संगठनका अध्यक्ष, अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडाल, निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बालगायत झण्डै एक सयजनाको कार्यशालामा सहभागिता छ ।