काठमाडौं। सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक लाई हिरासतबाट मुक्त गर्न आदेश दिएको छ।न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले दिएको आदेशअनुसार जिल्ला अदालत काठमाडौंले थप गरेको पाँच दिनको म्याद सकिएपछि उनीहरूलाई रिहा गर्नुपर्ने भएको हो। यसअनुसार उनीहरू २६ चैतमा हिरासतबाट बाहिरिने छन्।
जिल्ला अदालत काठमाडौंले २१ चैतदेखि लागू हुने गरी तेस्रोपटक पाँच दिनको म्याद थप गरी अनुसन्धानका लागि अनुमति दिएको थियो। सोही अवधिमा उनीहरू प्रहरी हिरासतमा राखिएका थिए।
गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा सरकारी जिम्मेवारीमा रहँदा लापरवाही गरेको आरोपमा प्रहरीले उनीहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको सिफारिसपछि उनीहरू १४ चैतमा पक्राउ परेका थिए।
प्रहरीले जरुरी पक्राउ पुर्जीका आधारमा पक्राउ गरेपछि १५ चैतमा जिल्ला अदालतमा म्याद थपका लागि पेश गरेको थियो। तर, पक्राउ प्रक्रिया नै गैरकानुनी भएको दाबी गर्दै दुवै नेताका तर्फबाट परिवारले बन्दीप्रत्यक्षीकरणको निवेदन सर्वोच्चमा दायर गरेका थिए।
सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले हिरासत अवधि सकिएपछि थप थुनामा राख्न नमिल्ने ठहर गर्दै रिहा गर्न आदेश दिएको हो।
प्रहरीले उनीहरूमाथि मुलुकी फौजदारी संहिता का दफा १८१, १८२ र १८३ अन्तर्गत ‘हेलचेक्र्याइँ गरी ज्यान मार्ने’ कसुरमा अनुसन्धान अघि बढाएको थियो। उक्त कसुरमा तीन वर्षसम्म कैद र जरिवानाको व्यवस्था रहेको छ।
यसैबीच, बालेन शाह नेतृत्वको सरकार गठनलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। त्यसपछि उक्त प्रकरणमा अनुसन्धान प्रक्रिया अघि बढाइएको हो।
सरकारका तर्फबाट गृहमन्त्री सुदन गुरुङ ले यो प्रक्रिया प्रतिशोध नभई न्यायको लागि भएको बताएका थिए।









