काठमाडौं । नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सदस्यता दिने निर्णय गरेको छ । सोमबार भक्तपुरको गुन्डुमा बसेको एमाले केन्द्रीय सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमालेका उपमहासचिव लेखराज भट्टले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय भएको जानकारी दिए ।“आज भएको निर्णय एउटै के हो भने पूर्वराष्ट्रपतिलाई सदस्यता दिने निर्णय भएको छ,” उपमहासचिव भट्टले भने ।
उनका अनुसार बैठक अन्य एजेन्डामा थप छलफल गर्न वैशाख ८ गते बिहान साढे ११ बजे पुनः बस्ने गरी स्थगित गरिएको छ ।
पूर्वराष्ट्रपति भण्डारी लामो समयदेखि एमाले राजनीतिसँग आबद्ध रहँदै आएकी थिइन । राष्ट्रपति पदमा निर्वाचित भएपछि सक्रिय पार्टी राजनीतिबाट अलग भएकी उनलाई पुनः पार्टी सदस्यता दिने निर्णयलाई एमालेभित्र कुनै नौलो नभएको बताइएको छ ।






