काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौँ उपत्यकामा प्रतिसिलिन्डर ग्यास दुई हजार ६० रुपैयाँमा बिक्री वितरण गर्न उद्योगीहरूसँग आग्रह गरेको छ।

बिहीबार विज्ञप्ति प्रकाशित गरी संघले यस्तो आग्रह गर्दै आ–आफ्ना वितरकलाई जानकारी गराउन भनेको छ। ‘काठमार्डौँ उपत्यकामा एलपी ग्यास बजारीकरण गर्नु हुने सबै ग्यास उद्योगीहरुलाई मिति २०८३/६/२ गते शुक्रबारदेखि लागू हुनेगरी निगमले तोकेको प्रति सिलिन्डर रु २,०६० (अक्षरेपी दुई हजार साठी रुपैयाँमात्र)मा नबढाई ग्यास बिक्री वितरण गर्नु हुन र आ–आफ्ना बिक्रेताहरूलाई जानकारी गराउनु हुन अनुरोध गर्दछ’ अध्यक्ष दिवान चन्दद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

ADVERTISEMENT

यसअघि भदौ १४ गते  कृष्णभीर क्षेत्रमा त्रिशूलीको बाढीका कारण पहिरो गएर सडक अवरुद्ध हुन पुगेकोपछि उद्योगीहरुले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषामा रहेका ग्यास उद्योगहरुमा सिलिण्डर रिफिल गरी ट्रकहरुमार्फत वैकल्पिक मार्गबाट ल्याई काठमाडौँ उपत्यकामा ग्यास बिक्री वितरण गर्दै आइरहेका थिए।

ADVERTISEMENT

त्यसक्रममा संघले भदौ १८ गते प्रेस विज्ञप्ति जारी गरी काठमाडौँ उपत्यकामा निगमले तोकेको प्रति सिलिण्डर दुई हजार ६० रुपैयाँमा १०५ रुपैयाँ ३८ पैसा ढुवानी भाडा थप गरी २,१६५ रुपैयाँ ३८ पैसामा ग्यास बिक्री वितरण गर्न अनुरोध गरेको थियो।

हाल अवरुद्ध सडक खण्डमा वैकल्पिक ट्रयाक खोली यातायात सूचारु भएसँगै एलपी ग्यास बुलेटहरु पनि काठमाडौँ आउन थालेकाले साविककै मूल्यमा ग्यास बिक्री गर्न संघले आग्रह गरेको हो।

ADVERTISEMENT