काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा आज (वैशाख १४) देखि देशभर सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन भइरहेको छ ।
परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको नयाँ तथा पुरानो पाठ्यक्रमका साथै ग्रेड वृद्धिका परीक्षार्थीहरू सहभागी भएका छन् । परीक्षा वैशाख २७ गतेसम्म सञ्चालन हुनेछ ।
यस वर्ष परीक्षामा नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थी सहभागी छन् । जसमध्ये १ लाख ७२ हजार १२ छात्र, १ लाख ६० हजार १३७ छात्रा र अन्य २९ जना परीक्षार्थी रहेका छन् । यस्तै, आंशिकतर्फ ८५ हजार ८३० परीक्षार्थी सहभागी हुँदै कुल ४ लाख १८ हजार ८ विद्यार्थी परीक्षा दिइरहेका छन् ।
परीक्षा बोर्डका अनुसार यस वर्ष सबैभन्दा कम मनाङ जिल्लाबाट ३१ जना र सबैभन्दा बढी काठमाडौंबाट ६४ हजार ३३ परीक्षार्थी सहभागी भएका छन् ।
देशभर १ हजार ४२० र जापानमा एक गरी कुल १ हजार ४२१ परीक्षा केन्द्र तोकिएको छ । सबैभन्दा बढी काठमाडौंमा १६१ केन्द्र र सबैभन्दा कम मनाङ तथा मुस्ताङमा एक–एक केन्द्र निर्धारण गरिएको छ ।
बोर्डले परीक्षा अवधिमा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः परीक्षा सञ्चालन नगर्ने स्पष्ट पारेको छ ।






