काठमाडौं । एनसेल अन्तर्गतको एनसेल फाउन्डेसन ले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थीहरूका लागि ‘एनसेल एसईई छात्रवृत्ति’ कार्यक्रम घोषणा गरेको छ। युवा सशक्तीकरण र शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यसहित प्रोजेक्ट शिक्षासँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो।
फाउन्डेसनले यस वर्ष देशभरका १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने जनाएको छ। छात्रवृत्तिका लागि सातै प्रदेशमा लिखित परीक्षा तथा अन्तर्वार्तामार्फत विद्यार्थी छनोट गरिनेछ।
कार्यक्रमअन्तर्गत आर्थिक रूपमा कमजोर भए पनि अध्ययनमा क्षमता भएका विद्यार्थीलाई प्राथमिकतामा राखिने जनाइएको छ। छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूले १२ महिनासम्म लिमिटेड डेटा र भ्वाइस सेवासहितको सञ्चार सुविधा पनि निःशुल्क प्राप्त गर्नेछन्।
एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्का ले शिक्षा देशको भविष्य निर्माण गर्ने प्रमुख आधार भएको बताउँदै प्रतिभाशाली विद्यार्थीलाई अवसर प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइन्।
![]()
उनले भौगोलिक अवस्था र आर्थिक सीमितताका कारण युवाहरूको भविष्य प्रभावित हुन नहुने उल्लेख गर्दै प्रदेशस्तरीय परीक्षा र पारदर्शी छनोट प्रक्रियामार्फत अवसरको अभावमा रहेका सक्षम विद्यार्थीलाई पहुँच दिने प्रयास भइरहेको बताइन्।
यसैबीच, प्रोजेक्ट शिक्षा सञ्चालन गर्दै आएको हन्ड्रेड ग्रुपले पनि थप ५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने जनाएको छ। सन् २०१७ देखि सञ्चालनमा रहेको उक्त कार्यक्रमले नेपालभरका एसईई उत्तीर्ण विद्यार्थीलाई शैक्षिक अवसर उपलब्ध गराउँदै आएको छ।
गत वर्ष पनि एनसेल फाउन्डेसनले देशभरका ५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो। ती विद्यार्थी हाल विभिन्न शैक्षिक संस्थामा कक्षा १२ मा अध्ययनरत रहेका छन्।






