काठमाडौं। एनसेल बिजनेसले ललितपुरको नख्खुस्थित आफ्नो अत्याधुनिक डाटा सेन्टरले अन्तर्राष्ट्रिय स्तरको ‘एएनएसआई/टीआईए–९४२–सी रेटेड ३ डिजाइन एन्ड कन्स्ट्रक्टेड फसिलिटी सर्टिफिकेशन’ प्राप्त गरेको जनाएको छ।

यो प्रतिष्ठित टीयर थ्री प्रमाणीकरणले डाटा सेन्टरको विश्वसनीयता, सुरक्षा तथा गुणस्तरका उच्च मापदण्डहरू पूरा गरेको पुष्टि गरेको छ। एनसेलका अनुसार यो नेपालबाट डिजाइन एन्ड कन्स्ट्रक्टेड फसिलिटीमा उक्त प्रमाणीकरण प्राप्त गर्ने पहिलो डाटा सेन्टर हो।
प्रमाणीकरणले डाटा सेन्टरमा उच्च उपलब्धता, अतिरिक्त सुरक्षा प्रणाली तथा विपद् वा प्राविधिक समस्यापछि छिटो पुनःसञ्चालनमा आउने क्षमता रहेको सुनिश्चित गरेको छ। पूर्ण रूपमा अतिरिक्त विद्युत् आपूर्ति, कुलिङ तथा नेटवर्क प्रणालीका कारण डाटा सेन्टर लगभग ९९.९८२ प्रतिशत समय सञ्चालनमा रहने बताइएको छ।

ADVERTISEMENT

एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले यो उपलब्धि नेपालकै डिजिटल पूर्वाधार विकासका लागि महत्वपूर्ण कोशेढुङ्गा भएको बताए। उनले बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सरकारी निकाय तथा निजी क्षेत्रका व्यवसायहरूले अब नेपालमै सुरक्षित र भरपर्दो डिजिटल पूर्वाधारमा आफ्ना सेवा सञ्चालन गर्न सक्ने उल्लेख गरे।

डाटा सेन्टरले यसअघि सूचना सुरक्षा तथा गोपनीयतासम्बन्धी आईएसओ २७००१ र आईएसओ २७७०१ लगायतका अन्तर्राष्ट्रिय मान्यता पनि प्राप्त गरिसकेको छ। साथै, आईएसओ ९००१ र १४००१ प्रमाणीकरणमार्फत गुणस्तरीय सेवा र वातावरणीय उत्तरदायित्वप्रति कम्पनीको प्रतिबद्धता पनि स्थापित भएको छ।

ADVERTISEMENT

एनसेलले यो प्रमाणीकरणले नेपालको डिजिटल रूपान्तरण, डाटा सार्वभौमिकता तथा स्थानीय स्तरमै सुरक्षित डाटा होस्टिङलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।

एनसेलले प्राप्त गरेको प्रमाणीकरण र कम्प्लाएन्स मापदण्डहरूबारे थप जानकारी  यो लिंक बाट लिन सकिने कम्पनीले जनाएको छ ।