गोरखा। उत्तरी गोरखाको लाइफलाइनका रूपमा चिनिने बेनिघाट–आरुघाट–लार्के सडकखण्डअन्तर्गत धार्चे गाउँपालिका–७ स्थित नौलीखोलामा मोटरेबल पुल निर्माण सम्पन्न भएको छ । आज आयोजित एक कार्यक्रममा धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले पुलको उद्घाटन गरेका हुन् ।
गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत विनियोजित बजेटमार्फत पूर्वाधार विकास कार्यालय गोरखाले निर्माण सम्पन्न गरेको उक्त पुल उत्तरी गोरखा जोड्ने मुख्य पूर्वाधारका रूपमा रहेको छ ।
पुल निर्माण सम्पन्न भएसँगै धार्चे गाउँपालिकाको केन्द्र माछाखोला तथा चुमनुब्री गाउँपालिकासम्म वर्षभर सवारीसाधन सञ्चालन सहज हुने गाउँपालिका अध्यक्ष गुरुङले बताए।
“यो पुल सञ्चालनमा आएपछि उत्तरी गोरखाका स्थानीय, आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावतमा ठूलो सहजता हुनेछ,” अध्यक्ष गुरुङले भन्नुभयो, “खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्दा चर्को भाडा तिर्नुपर्ने बाध्यता पनि अब अन्त्य हुने अपेक्षा गरेका छौँ ।”
पूर्वाधार विकास कार्यालय गोरखाका अनुसार पुल निर्माणका लागि विसं २०७९ साउन २३ गते सूर्यदय कन्स्ट्रक्सन कम्पनी प्रालिसँग रु चार करोड ३४ लाख ७५ हजार ३५९ लागतमा ठेक्का सम्झौता गरिएको थियो ।
सुरु सम्झौताअनुसार विसं २०८१ साउन २२ गतेभित्र पुल निर्माण सम्पन्न गर्नुपर्ने भए पनि विभिन्न कारणले समय थप गरी आगामी साउन २२ गतेसम्मका लागि म्याद कायम गरिएको थियो । निर्माण कम्पनीले भने केही दिनअघि नै पुल निर्माण सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गरिसकेको जनाएको छ ।करिब ३५ मिटर लम्बाइ र आठ दशमलव ४० मिटर चौडाइ रहेको उक्त पुल प्रिस्ट्रेस प्रविधिमा निर्माण गरिएको हो ।
स्थानीयवासीले पुल सञ्चालनमा आएपछि वर्षायाममा हुने जोखिमपूर्ण आवागमनको समस्या समाधान हुनुका साथै उत्तरी गोरखाको आर्थिक तथा पर्यटन गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन् ।






