काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को कार्यविभाजन हेरफेर गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह को सिफारिसमा राष्ट्रपति पौडेलले मन्त्रीहरूको जिम्मेवारी पुनः निर्धारण गरेका हुन्।
सरकारले यसअघि मन्त्रालयको संख्या घटाउने निर्णय गरेपछि सोहीअनुसार मन्त्रिपरिषद्को कार्यविभाजन गरिएको हो।नयाँ कार्यविभाजनअनुसार प्रधानमन्त्री बालेन्द्र शाहले रक्षा, गृह, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्।
त्यसैगरी, डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालय, शिशिर खनालले परराष्ट्र मन्त्रालय तथा विराजभक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्।पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सुनिल लम्साललाई दिइएको छ।
त्यस्तै, सोविता गौतमले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सीता बादीले महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएकी छन्।प्रतिभा रावललाई भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ।स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको जिम्मेवारी निशा मेहता ले सम्हाल्नेछिन् भने शिक्षा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सस्मित पोखरेल ले पाएका छन्।
यस्तै, खडकराज पौडेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, विक्रम तिमिल्सिनाले सूचना तथा सञ्चार मन्त्रालय, गीता चौधरीले कृषि, वन तथा पर्यावरण मन्त्रालय, गौरी कुमारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा रामजी यादवले युवा, श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी पाएका छन्।
सरकारले मन्त्रालयको संख्या घटाएर प्रशासनिक खर्च कटौती र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित जिम्मेवारी पुनः बाँडफाँट गरेको जनाएको छ।










