काठमाडौं । हर्क साम्पाङ ले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित नभएकोप्रति आपत्ति जनाएका छन्।प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले प्रधानमन्त्रीको अनुपस्थिति संसदको मर्यादा तथा संसदीय परम्पराविपरीत भएको बताएका हुन्।
उनले प्रधानमन्त्रीले छलफल नसुने पनि उत्तर दिने क्रममा सदनमा उपस्थित हुने विश्वास आफूहरूले लिएको उल्लेख गरे। तर, यदि प्रधानमन्त्री उपस्थित नभए आफ्नो पार्टी बैठकबाट बाहिरिने चेतावनी समेत दिए।
‘उहाँले छलफल सुन्नु भएन, तर उत्तर दिने बेलामा आउनु हुनेछ भन्ने विश्वास लिएका छौँ । यदि उहाँ आउनु भएन भने हाम्रो पार्टी बाहिरिने छ,’ साम्पाङले बैठकमा भने।अध्यक्ष साम्पाङले प्रधानमन्त्री स्वयं उपस्थित भएर सांसदहरूको जिज्ञासाको जवाफ दिनुपर्ने तर्क गर्दै विवाहको उदाहरण प्रस्तुत गरेका थिए।
‘आफ्नो विवाहमा अरूलाई बेहुला बनाएर पठाउन मिल्दैन, त्यसैगरी प्रधानमन्त्रीले पनि आफ्नै जिम्मेवारीमा सदनमा आएर जवाफ दिनुपर्छ,’ उनले भने।उनले संसदको गरिमा कायम राख्न प्रधानमन्त्रीको प्रत्यक्ष उपस्थितिलाई अनिवार्य मानिनुपर्ने धारणा व्यक्त गरे।










