काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद राजेन्द्रकुमार राईले सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि तीव्र आलोचना गर्दै ‘बाउको चिहान खनेर छोराको शालिक बनाउँदै’ गरेको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै सांसद राईले विगतमा रास्वपा सांसदहरूले संसदको मूल्य–मान्यता विपरीत नाराबाजी गर्ने, सदनमै सुत्ने लगायतका गतिविधि गरेको स्मरण गराउँदै आफूहरू सत्तामा हुँदा त्यसप्रति प्रतिवाद नगरेको बताए।
उनले अहिले रास्वपा सरकारमा पुगेपछि व्यवहार फेरिएको भन्दै आश्चर्य व्यक्त गरे।‘यो गल्ती हुनेछ, यसो गर्नु हुँदैन,’ उनले भने।सांसद राईले विगतको संसद भवनको अवस्थालाई स्मरण गर्दै सबैले स्वतन्त्र रूपमा बोल्न र चिया खान पाउने वातावरण रहेको उल्लेख गरे। उनले प्रश्न गर्दै भने, ‘त्यो संसद भवन कसले जलायो?’
उनले अहिले संसद सञ्चालनको शैली विद्यालयमा गरिने ‘सिट प्लानिङ’ जस्तो भएको आरोप लगाउँदै यसले सांसदहरूको स्वतन्त्रतामाथि प्रश्न उठाएको बताए।
‘त्यो संसद भवन नजलेको भए के हुन्थ्यो, आज तपाईंहरूले यस्तो सिट प्लानिङ गर्न सक्नुहुन्थ्यो?’ उनले प्रश्न गरे।सांसद राईले अहिले सांसदहरू पाँच–छ कक्षाका विद्यार्थीझैँ बस्न बाध्य भएको गुनासो गरे।
रास्वपालाई जनताले देश बनाउने जिम्मेवारीसहित सशक्त जनमत दिएको स्मरण गराउँदै उनले यति शक्तिशाली जनादेश प्राप्त पार्टीले आफ्नै प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन नसक्नु गम्भीर विषय भएको टिप्पणी गरे।
प्रधानमन्त्री नजिकै रहे पनि सदनमा उपस्थित गराउन नसक्नु रास्वपाको निजी समस्या हो कि होइन भन्ने प्रश्न समेत उनले उठाए।










