काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहे पनि अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले नेपालमा पानी परिरहेको छ ।
गएराति कोशी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा पनि भएको छ । पछिल्लो एक घण्टामा पनि बाँकेको नौबस्ता, उदयपुरको गाईघाट लगायतका स्थानमा पनि भारी वर्षा मापन भएको छ ।
बरिष्ठ मौसमविद शान्ति कँडेलले अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले पानी परेको बताइन् । उनको अनुसार यसको प्रभाव अबको दुई–तीन दिनसम्मै देखिने पूर्वानुमान पनि छ ।
‘बादल बढ्ने क्रममा छ । रातिदेखिको कुरा गर्दा वर्षाको गतिविधि बढेको छ,’ बरिष्ठ मौसमविद कँडेलले भनिन्, ‘कोशी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा भएको देखिएको छ । कोशी प्रदेशपछि मधेशमा र लुम्बिनीमा पनि वर्षा भएको छ ।’








