किमाथाङ्का। सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित च्याम्ताङ–घोङ्गप्पा सडक निर्माण सम्पन्न भएको छ। राष्ट्रिय गौरवको उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत पर्ने उक्त सडकखण्ड नेपाली सेनाले निर्माण सम्पन्न गरी सोमबार एक कार्यक्रमबीच उत्तर–दक्षिण (कोशी) सडक योजनालाई हस्तान्तरण गरेको हो।

नेपाली सेनाले निर्माण गरेको १०.८१ किलोमिटर सडक खण्डको ट्र्याक खोल्ने तथा स्तरोन्नतिको काम सम्पन्न गरेको हो। भौगोलिक रूपमा अत्यन्त विकट मानिने खाँदबारी–किमाथाङ्का सडकखण्डअन्तर्गत पर्ने यो सडक निर्माण सम्पन्न भएसँगै स्थानीय यातायात पहुँचमा महत्वपूर्ण सुधार आउने अपेक्षा गरिएको छ।

ADVERTISEMENT

आयोजना प्रमुख प्रमुख सेनानी शम्शेरबहादुर सिंहका अनुसार सेनाले जिम्मेवारी पाएको सडकखण्ड निर्धारित काम सम्पन्न गरी सम्बन्धित कार्यालयलाई हस्तान्तरण गरेको हो। उनका अनुसार सडक निर्माण सुरु भएको करिब पाँच वर्षपछि परियोजना पूरा गरिएको हो।

नेपाली सेनाले २०७७ फागुन २४ गते सडक निर्माण सुरु गरेको थियो। सेनाको विकास निर्माण निर्देशनालयअन्तर्गत निर्माण सम्पन्न गरिएको यो सडक अब स्थानीय नागरिकको दैनिकीसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण पूर्वाधारका रूपमा स्थापित भएको छ।

ADVERTISEMENT

सडक हस्तान्तरण कार्यक्रममा रक्षा मन्त्रालयका उपसचिव रामेश्वर पोख्रेल, प्रेमप्रसाद न्यौपाने तथा उत्तर–दक्षिण कोशी सडक कार्यालयका प्रमुख रामबहादुर गुरुङलगायतको उपस्थिति रहेको थियो।

उत्तर–दक्षिण (कोशी) सडक योजनाका प्रमुख रामबहादुर गुरुङले कठिन भूगोल, विकट वातावरण र प्राविधिक चुनौतीका बीच नेपाली सेनाले जिम्मेवारी सफलतापूर्वक पूरा गरेको बताए।

खाँदबारी–किमाथाङ्का सडकखण्डको कुल १६२ किलोमिटरमध्ये १०.८१ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनाले पाएको थियो। कडा चट्टान र दुर्गम भूगोलका कारण हेलिकप्टरमार्फत निर्माण सामग्री ढुवानी गरेर काम सम्पन्न गरिएको जनाइएको छ।

कडा चट्टान फोर्न विस्फोटक पदार्थ आवश्यक पर्ने भएकाले २०७६ भदौ २२ गतेको मन्त्रिपरिषद् बैठकले सेनालाई उक्त सडक निर्माणको जिम्मेवारी दिएको थियो।

किमाथाङ्का–जोगबनी सडकखण्ड सञ्चालनमा आएपछि कोशी प्रदेशका सङ्खुवासभा, धनकुटा, तेह्रथुम, सुनसरी, मोरङ, झापा र भोजपुरका नागरिक प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ। स्थानीयवासीले सडक सञ्चालनसँगै सीमामा भन्सार कार्यालय स्थापना गर्न माग गरेका छन्।

आयोजना कार्यालयका अनुसार खाँदबारी–किमाथाङ्का सडक निर्माणमा हालसम्म ६२ करोड ३६ लाख ६७ हजार रुपैयाँ खर्च भइसकेको छ।