काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसमा गुटगत भेला र बैठक तीव्र बनेको छ । कांग्रेस संस्थापन पक्षले १५औं महाधिवेशनको तयारी र क्रियाशील सदस्यता अद्यावधिक अघि बढाएपछि शेरबहादुर देउवा र शेखर कोइराला समूह असन्तुष्ट बनेको छ ।
कांग्रेस संस्थापनले हाल प्रदेशस्तरीय चुनावी समीक्षा भेला आयोजना गरिरहेको छ । सुदूरपश्चिमपछि अहिले सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा कर्णाली प्रदेशस्तरीय भेलाका लागि सुर्खेतमा छन् । संस्थापनले आयाेजना गरेकाे भेलामा देउवा र काेइराला समूहका नेता सहभागी भएका भने छैनन् ।
देउवा समूहले पनि आफ्नो पोजिसन क्लियर गर्न प्रदेशस्तरीय भेला थालेको छ । जसअनुसार मंगलबार देउवा समूह विराटनगरमा कोशी प्रदेशस्तरीय भेलामा जुटेको छ । सो समूहले बुधबार बागमती प्रदेशस्तरीय भेला बबरमहलस्थित कार्की ब्यांक्वेटमा आयोजना गर्दैछ । उसले १५औं महाधिवेशनको तयारीका लागि भनेर नारा अघि सारेको छ ।
यस्तै, कांग्रेस नेता शेखर कोइरालाले आफूनिकट नेताहरूलाई छलफलका लागि बोलाएका छन् । सभापति गगन थापाले सोमबार विशेष महाधिवेशनमा सहभागी नभएका १९ जना नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेपछि कोइरालाले आफूनिकट नेताहरूलाई छलफलमा बोलाएका हुन् ।
कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा जारी छलफलमा १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरू सहभागी छन् । छलफलमा सहभागी स्रोतले बैठकमा केन्द्रीय सदस्यमा मनोनित नेताहरू जीवन परियार, डा. गोविन्दराज पोखरेल, दिनेश कोइराला र उर्मिला थपलिया पनि सहभागी छन् ।








