काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गेम डेभलपमेन्ट तथा सूचना प्रविधि (आईटी) उद्योगको विकास र विस्तारका लागि नीतिगत सुधार तथा कर सहुलियतको व्यवस्था गर्ने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत शनिबार धारणा सार्वजनिक गर्दै उनले नेपाली युवाले निर्माण गरेका गेमले विश्व बजारमा सफलता हासिल गरिरहेको उल्लेख गरेका छन्।

ADVERTISEMENT

प्रधानमन्त्री शाहका अनुसार नेपालीले निर्माण गरेको विश्वचर्चित ‘लुडो गेम’ झन्डै २० करोड र ‘कलब्रेक गेम’ १५ करोडभन्दा बढी पटक डाउनलोड भएका छन्। यसबाहेक नेपालमा सयौँ युवा गेम एप निर्माणमा सक्रिय रहेको उनले बताएका छन्।

ADVERTISEMENT

गेम डेभलपमेन्ट क्षेत्रमा संलग्न युवाहरूसँग छलफल गरी उनीहरूका समस्या र उद्योग विकासका सम्भावनाबारे जानकारी लिइएको पनि प्रधानमन्त्रीले बताएका छन्। उक्त क्षेत्रलाई सहज बनाउँदै उद्योगका रूपमा विकास गर्न आवश्यक गृहकार्य अघि बढाइएको उनको भनाइ छ।

‘सयौँ युवाहरू गेम एप बनाउन तल्लीन हुनुहुन्छ। हामीले उहाँहरूलाई बोलाएर समस्याहरू पनि बुझ्यौँ र यो गेम डेभलपमेन्ट क्षेत्रलाई सजिलो बनाउन तथा उद्योगका रूपमा अघि बढाउने विषयमा पनि कुरा गर्‍यौँ,’ उनले फेसबुकमा लेखेका छन्।

नेपालबाटै विश्वस्तरका युनिकर्न कम्पनी निर्माण गर्न सहज हुने गरी आवश्यक नियम र वातावरण पुनरावलोकन गरिने पनि उनले बताएका छन्।

आईटी उत्पादन तथा निर्यातको क्षेत्रमा समेत ठूलो सम्भावना रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले नेपाली प्रतिभा र कम्पनीहरूले सहज रूपमा आम्दानी गर्न तथा त्यसलाई पुनः लगानी गर्न सक्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्।