मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा स्थानीयस्तरमै क्रिकेटको विकास गर्दै नयाँ खेलाडी उत्पादनका लागि आवश्यक सहयोग गर्ने बताएका छन्।नेपाल क्रिकेट सङ्घ (क्यान)द्वारा विराटनगरमा आयोजित दुईदिने वार्षिक साधारणसभा उद्घाटन गर्दै उनले प्रदेशका नौ स्थानमा आधारभूत तहदेखि क्रिकेट खेलाडी उत्पादनका लागि प्रशिक्षण केन्द्र स्थापना गर्न आवश्यक बजेटको व्यवस्था गरिने बताएका हुन्।
मुख्यमन्त्री कार्कीले विराटनगरको बैजनाथपुरस्थित क्रिकेट रंगशाला संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरे आगामी दुई वर्षभित्र सुविधासम्पन्न अत्याधुनिक रंगशाला निर्माण गरेर सञ्चालनमा ल्याउने घोषणा गरे।उनले मेची रंगशालामा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालनका लागि बजेट छुट्याइने जानकारी दिँदै त्यहाँ रात्रिकालीन खेल सञ्चालनका लागि फ्लडलाइट जडान गरिने बताए।
मुख्यमन्त्री कार्कीले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा प्रदेश सरकारलाई जोड्न क्यानलाई आग्रह गर्दै प्रतियोगिताको प्रथम पुरस्कारको व्यवस्था प्रदेश सरकारले गर्न सक्ने संकेत गरे।साथै उनले ‘विराटनगर किङ्स’ को नाम परिवर्तन गरेर ‘कोशी अर्नाज’ राख्न सुझाव दिए।
उनले भने, “विकास भनेको पुल, सडक र भौतिक संरचना मात्र होइन, खेलकुदमार्फत जीवनस्तर सुधार गर्नु, रोजगारी सिर्जना गर्नु र आर्थिक गतिविधि चलायमान बनाउनु पनि हो।”प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङथेपले क्रिकेटमार्फत नेपालको पहिचान अन्तर्राष्ट्रियस्तरमा स्थापित भएको उल्लेख गर्दै पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहयोग रहने बताए।
सामाजिक विकासमन्त्री रामप्रसाद मेहताले प्रदेश खेलकुद विकास बोर्डमा उपाध्यक्ष र सदस्यसचिव नियुक्ति नहुँदा खेलकुद क्षेत्रको बजेट व्यवस्थापनमा समस्या भएको बताए।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का वरिष्ठ व्यवस्थापक रोहित पोद्धारले नेपाल सहआयोजक रहेको अन्डर–१९ महिला क्रिकेट प्रतियोगिता सफल हुने विश्वास व्यक्त गरे।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित मेहताले पछिल्लो समय क्रिकेट नेपालमा सबैभन्दा लोकप्रिय खेलका रूपमा विकसित हुँदै गएको बताए।क्यान अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशनकुमार सिंह, सचिव पारस खड्का तथा कोशी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सर्वजीतराज पाण्डेले नेपाल प्रिमियर लिगले गाउँगाउँसम्म क्रिकेटको लोकप्रियता विस्तार गरेको बताएका छन्।








