काठमाडौँ। नवलपरासी पश्चिम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विनोद चौधरीले आगामी निर्वाचनलाई लक्षित गर्दै जनताको प्रत्यक्ष सहभागितामा आधारित संकल्पपत्र तयार गर्ने नयाँ अभियान सुरु गरेका छन्। परम्परागत रूपमा सीमित समूहभित्र बसेर योजना बनाउने राजनीतिक अभ्यासलाई बदल्दै उनले आम मतदाताका विचार, आवश्यकता र प्राथमिकता समेट्ने उद्देश्यसहित डिजिटल माध्यमको प्रयोग थालेका हुन्।

नेपाली कांग्रेसका उम्मेदवार चौधरीले यस अभियानअन्तर्गत एक अनलाइन फारम सार्वजनिक गरी मतदाताबाट स्थानीय समस्या र विकाससम्बन्धी सुझाव संकलन गरिरहेका छन्। उनका अनुसार नागरिकलाई विकास निर्माणको नीति तहसम्म जोड्ने लक्ष्यका साथ यो पहल अघि बढाइएको हो।

ADVERTISEMENT

अनलाइन फारममार्फत मतदाताले आफ्नो नाम र ठेगानासहित शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधारलगायत क्षेत्रका समस्या र सम्भावित समाधानबारे सुझाव दिन सक्ने व्यवस्था गरिएको छ। चौधरीले जनताले उठाएका विषय र प्राथमिकतालाई नै आफ्नो मुख्य चुनावी एजेन्डा बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सबै वर्ग, क्षेत्र र पुस्ताका नागरिकलाई सक्रिय सहभागिताका लागि आह्वानसमेत गरेका छन्।

उद्योगीसमेत रहेका चौधरीले दिगो र प्रभावकारी योजना कार्यान्वयनका लागि सही व्यवस्थापन र सामूहिक प्रयास अनिवार्य हुने धारणा राखे। उनले संकल्पपत्र जनताको वास्तविक आवश्यकता बुझेर, उनीहरूसँगै बसेर तयार गर्न चाहेको बताए। स्थानीय सडक, पुल, कृषि, बजार र रोजगारीसँग जोडिएका समस्यामा जनताको प्राथमिकता नै आफ्नो कार्यसूचीको केन्द्रमा रहने उनको भनाइ छ।

उनका अनुसार मतदानले सरकार गठन हुन्छ, तर समृद्ध समाज निर्माणका लागि नागरिकको सुझाव, सहभागिता र सक्रियता अपरिहार्य हुन्छ। स्थानीय समस्याको वास्तविक पहिचान स्थानीय बासिन्दाबाट नै सम्भव हुने भएकाले विकास योजनामा सबैको सहकार्य आवश्यक रहेको उनले उल्लेख गरेका छन्।