काठमाडौं । काठमाडौं उपत्यका भित्रिने तथा बाहिरिने प्रमुख पूर्वीनाका साँगामा निर्माण भइरहेको अण्डरपासले तीव्रता पाएको छ ।
अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाअन्तर्गत भक्तपुर र काभ्रेपलाञ्चोकको सीमास्थित साँगामा अण्डरपास निर्माण कार्य भइरहेको हो ।
हाल सूर्यविनायक–धुलिखेल सडक चार लेनमा स्तरोन्नति भइरहेको छ । साँगा क्षेत्रमा अग्लो पहाड भएकाले सडकलाई तलमाथि छुट्टाछुट्टै दुईरदुई लेनमा निर्माण गरिएको छ । यसअन्तर्गत काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीसाधनका लागि बाँयातर्फ दुई लेनको एकतर्फी अण्डरपास निर्माण भइरहेको छ ।
आयोजनाका अनुसार साँगा क्षेत्रमा भक्तपुरबाट बाहिरिने क्रममा सवारीसाधनले लामो उकालो पार गर्नुपर्ने समस्या रहेकाले यात्रालाई सहज बनाउन अण्डरपास निर्माण गरिएको हो । साथै, साँगाचोकमा सवारी आवागमनलाई व्यवस्थित र निर्वाध बनाउने उद्देश्यसमेत रहेको जनाइएको छ ।
अण्डरपासको कुल लम्बाइ एक हजार ११० मिटर रहेको छ । यसमध्ये २० मिटर पुल, बनेपातर्फ १९० मिटर तथा भक्तपुरतर्फ ९०० मिटर एप्रोच सडक निर्माण भइरहेको छ । अण्डरपासको उचाइ ६ मिटर र चौडाइ साढे १० मिटर रहनेछ ।
हालसम्म अण्डरपास निर्माणको करिब ९० प्रतिशत काम सम्पन्न भएको आयोजनाले बताएको छ । अन्डरपासको मुख्य संरचना र एप्रोच सडक निर्माण सम्पन्न भइसकेको छ भने अहिले साइड शेयरवाल र पेभमेन्ट सतहको काम अन्तिम चरणमा पुगेको छ ।
निर्माण सम्पन्न भएपछि भक्तपुरबाट बनेपातर्फ जाने सवारीसाधन अण्डरपासमार्फत सञ्चालन हुनेछन् भने बनेपाबाट भक्तपुर आउने सवारीसाधन माथिल्लो सडकमार्ग प्रयोग गर्नेछन् ।अण्डरपास निर्माण कार्य सूर्यविनायक–साँगा सडक खण्डको ठेक्का पाएको निर्माण कम्पनीले नै गरिरहेको हो ।







