काठमाडौं । शनिबार साँझदेखि अवरुद्ध रहेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ । रोशी खोलामा आएको बाढीले विभिन्न स्थानका डाइभर्सन बगाएपछि अवरुद्ध बनेको राजमार्ग तीन दिनपछि सञ्चालनमा ल्याइएको हो ।
सडक डिभिजन कार्यालयका अनुसार सोमबार दिउँसो करिब साढे ३ बजेदेखि सवारी आवागमन पुनः सुरु गरिएको छ ।
बाढीका कारण चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेँशी, बुलढुंगा र माम्तीसहित सिन्धुलीतर्फका आँपघारी र नेपालथोक क्षेत्रमा रहेका डाइभर्सनहरू बगेका थिए ।
सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीको समन्वयमा क्षतिग्रस्त संरचनाहरू मर्मत गरी यातायात पुनः सञ्चालनमा ल्याइएको हो । हालका लागि रोशी खोलाको किनार हुँदै अस्थायी डाइभर्सन निर्माण गरेर सवारी सञ्चालन गरिएको जनाइएको छ ।
अधिकारीहरूले अस्थायी संरचना भएकाले वर्षायाममा पुनः जोखिम हुन सक्ने भन्दै सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेका छन् ।







