काठमाडौँ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ‘स्टार्टअप उद्यम कर्जा कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ पहिलो संशोधन अन्तर्गत प्राप्त प्रस्तावहरूमध्ये १० हजार ३०१ वटा प्रस्तावलाई प्रारम्भिक सूचीमा छनौट गरेको जनाएको छ। प्रतिष्ठानले २०८२ कात्तिक १९ गतेदेखि मंसिर ९ गतेसम्म परियोजना प्रस्ताव आह्वान गरेको थियो।

प्रारम्भिक सूचीमा परेका प्रस्तावकहरूका लागि थप मूल्याङ्कन प्रक्रिया अघि बढाइएको छ। प्रतिष्ठानका अनुसार अन्तिम छनोटका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको २०८२ चैत ९ गतेको प्रेस विज्ञप्ति अनुरूप प्रक्रिया परिमार्जन गरिएको बताएको छ।

ADVERTISEMENT

व्यावसायिक योजनाको प्रत्यक्ष प्रस्तुतीकरण गर्दा प्रस्तावकलाई अतिरिक्त खर्च, झन्झट र समय लाग्ने भएकाले अब स्थलगत निरीक्षण, फोटो, भिडियो र अन्य विवरणका आधारमा मूल्याङ्कन गरिनेछ। यसका लागि सम्बन्धित पालिकाका उद्यम विकास सहजकर्ता बाट प्राप्त विवरणलाई आधार मानिने प्रतिष्ठानले जनाएको छ।

प्रारम्भिक सूचीमा परेका प्रस्तावकहरूले आफूलाई प्राप्त एसएमएस(SMS) मा दिइएको लिंकमार्फत वा प्रतिष्ठानको आधिकारिक वेबसाइटमा गई आवश्यक फारम डाउनलोड गर्नुपर्नेछ। त्यसपछि सो  फारममा आफ्नो व्यवसायसम्बन्धी सम्पूर्ण विवरण स्पष्ट रूपमा भरेर तोकिएको ह्वाट्सएप नम्बर ९७१२००६७१७ मा पठाउनुपर्नेछ।

प्रतिष्ठानका अनुसार सूचीमा परेका प्रस्तावकहरूले वैशाख २३ गते बेलुका ५ बजेसम्म विवरण पठाइसक्नुपर्नेछ। तोकिएको समयसीमाभित्र आवश्यक विवरण नपठाएमा सम्बन्धित प्रस्ताव स्वतः अमान्य हुने उल्लेख गरिएको छ ।

यस प्रक्रियामार्फत छनोट प्रक्रिया छिटो, सहज र प्रभावकारी बनाउने लक्ष्य राखिएको प्रतिष्ठानको भनाइ छ। साथै, आर्थिक वर्षभित्रै उक्त कार्यक्रम सम्पन्न गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।