काठमाडौं। केही दिनयता काठमाडौं उपत्यकाको आकाश निलोभन्दा बढी धुम्मिएको देखिन्छ। बिहान उठ्दा टाढाका डाँडाकाँडा स्पष्ट देखिँदैनन् भने दिउँसो घाम लाग्दा पनि वातावरण कुहिरोले ढाकिएको जस्तो लाग्छ। यसबीच सास फेर्दा घाँटी पोल्ने र आँखा जल्ने गुनासो पनि बढ्दै गएको छ।
वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागका अनुसार काठमाडौं उपत्यका साथै इलाम, अछाम, ललितपुर (भैँसीपाटी), भक्तपुर, रत्नपार्क, शंखपार्क, कीर्तिपुर, दाङ (देउखुरी) र सुर्खेतमा वायु प्रदूषण अस्वस्थ तहमा पुगेको छ।
सरकारी वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) अनुसार ०–५० ‘राम्रो’, ५१–१०० ‘मध्यम’, १०१–१५० ‘संवेदनशील समूहका लागि अस्वस्थ’, १५१–२०० ‘अस्वस्थ’, २०१–३०० ‘निकै अस्वस्थ’ र ३०१ भन्दा माथि ‘खतरनाक’ मानिन्छ। हाल कतिपय स्थानमा सूचकाङ्क १५० नजिक पुगेको छ।
प्रदूषण बढ्नाका कारण
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार प्रदूषण मौसमी भए पनि काठमाडौंको भू-आकृति र मानव गतिविधिले यसलाई गम्भीर बनाएको छ। उपत्यका चारैतिर पहाडले घेरिएको ‘कचौरा’ जस्तो भू-भाग भएकाले धुलो-धुवाँ सजिलै बाहिर निस्कन पाउँदैन।
सवारीसाधन, उद्योग-कलकारखाना, आगलागी, वन डढेलो, विकास निर्माण र फोहोर जलाउने गतिविधि प्रमुख प्रदूषण स्रोत हुन्। जाडो महिनामा हावाको बहाव कमजोर हुने र वर्षा नहुने भएकाले प्रदूषण झनै बढ्छ।
पुराना डिजेल सवारीसाधन, नियमित मर्मत नगरेका गाडी, प्लास्टिक र पराल जलाउने अभ्यासले पनि हावामा विषालु कण बढाउँछ।
प्रदूषण घट्ने सम्भावना
जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार प्रदूषण घटाउन ठूलो वर्षा वा तीव्र हावाको आवश्यकता पर्छ। केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ, जसले प्रदूषण कम गर्न सहयोग गर्ने अनुमान छ।
स्वास्थ्यमा असर र सावधानी
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार वायु प्रदूषणले दम, दीर्घकालीन फोक्सो रोग (सीओपीडी), मुटुरोग तथा स्ट्रोकको जोखिम बढाउँछ। बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला र श्वासप्रश्वाससम्बन्धी रोग भएका व्यक्तिले विशेष सावधानी अपनाउनुपर्छ।
मन्त्रालयले प्रदूषण बढी भएको समयमा अनावश्यक रूपमा घरबाहिर ननिस्कन, मास्क प्रयोग गर्न र बिहान–साँझ बाहिरी गतिविधि कम गर्न आग्रह गरेको छ।
वातावरणविद्हरूका अनुसार प्रदूषण न्यूनीकरणमा सरकारी प्रयास मात्र पर्याप्त छैन; नागरिक र निकायबीच सहकार्य आवश्यक छ। नियमित सवारीसाधन मर्मत, फोहोर नजलाउने, वन डढेलो नियन्त्रण र निर्माण कार्यमा धुलो नियन्त्रण उपाय अपनाउनु जरुरी रहेको छ।









