काठमाडौं । काठमाडौंको गौशाला क्षेत्रमा कारमार्फत युवती सप्लाई गरी अवैध यौनधन्दा सञ्चालन गरेको आरोपमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ।

प्रहरी वृत्त गौशालाको टोलीले सञ्चालन गरेको विशेष अपरेशनका क्रममा चार पुरुष र १२ युवतीलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–१४ का ३४ वर्षीय सुनिल तामाङ, मकवानपुर बकैया गाउँपालिका–८ का २८ वर्षीय विवेक स्याङ्तान, काठमाडौं–९ शम्भुमार्गका राजकुमार गौतम तथा मकवानपुर मनहरी गाउँपालिका–२ का ३३ वर्षीय विकास भुलन रहेका छन्।

ADVERTISEMENT

प्रहरीका अनुसार उक्त समूहले फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र टिकटकजस्ता सामाजिक सञ्जालमार्फत ग्राहक खोज्ने, रकमको मोलमोलाइ गर्ने तथा सहमति भएपछि होटल वा ग्राहकले तोकेको स्थानमा युवती पठाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीले घटनामा प्रयोग भएको बीएसी ०८९० नम्बरको मारुती सुजुकी कार र बा २ ज २३२७ नम्बरको ट्याक्सी समेत नियन्त्रणमा लिएको जनाएको छ।

ADVERTISEMENT

अनुसन्धानका क्रममा बरामद मोबाइल फोनहरूमा ग्राहकसँगको संवाद, रकमको बार्गेनिङ तथा यौनधन्दासम्बन्धी विभिन्न विवरण फेला परेको प्रहरीको भनाइ छ। पक्राउ परेका व्यक्तिहरूमध्ये विकास भुलन होटल सञ्चालक, विवेक स्याङ्तान ट्याक्सी चालक, राजकुमार गौतम कारधनी तथा सुनिल तामाङ ग्राहक खोज्ने भूमिकामा रहेको बताइएको छ।

प्रहरीका अनुसार उक्त समूहले प्रतिग्राहक करिब १० हजार रुपैयाँसम्म लिएर सेवा उपलब्ध गराउने गरेको देखिएको छ। विशेषगरी गौशाला क्षेत्रका होटलहरूमा युवती पठाउने कार्य हुँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।