काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बुधबारको बैठकमा बँदेल र बाँदर नियन्त्रणको विषयलाई लिएर सांसदहरूबीच चर्काचर्की भएको छ। विशेषगरी नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदबीच यस विषयमा तीव्र विवाद देखिएको हो।
बैठकमा एमाले सांसद लक्ष्मीप्रसाद पोखरेलले जंगली जनावरका कारण किसानहरू अत्यधिक पीडित भएको उल्लेख गर्दै बाँदरको बन्ध्याकरण र बँदेल नियन्त्रणका लागि कडा कानुनी व्यवस्था आवश्यक रहेको धारणा राखे। उनले बँदेलका कारण मानवीय क्षति समेत भएको दाबी गरे।
उनको अभिव्यक्तिपछि रास्वपाकी सांसद आशिका तामाङले कडा आपत्ति जनाइन्। “माननीय भएर जनावर मार्ने कुरा नगरौँ,” उनले भनिन्। पोखरेलले आफ्नो धारणा राख्ने क्रममा बँदेलले मानिसमाथि आक्रमण गरेको उदाहरण प्रस्तुत गरे पनि तामाङले कुनै पनि हालतमा जनावर मार्न नहुने अडान दोहोर्याइन्।
पोखरेलले यदि नमार्ने हो भने प्रभावकारी व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए। जवाफमा तामाङले जंगली जनावरको पनि बाँच्न पाउने अधिकार रहेको उल्लेख गर्दै वैकल्पिक उपाय अपनाउनुपर्ने धारणा राखिन्। उनले जर्मनीको उदाहरण दिँदै त्यहाँ जनावर नमारेर इलेक्ट्रिक तारबार जस्ता उपायबाट नियन्त्रण गर्ने गरिएको बताइन्।
विवाद चर्किँदै जाँदा समिति सभापति अशोक कुमार चौधरीले हस्तक्षेप गर्दै बैठकको वातावरण शान्त बनाएका थिए।
बैठकमा रास्वपाका सांसद सागर ढकालले कुनै पनि विषयमा बोल्दा अध्ययनसहित समाधान प्रस्तुत गर्नुपर्नेमा जोड दिए। “समस्या मात्रै उठाउने होइन, समाधान पनि दिनुपर्छ। बाँदर र बँदेल नियन्त्रणका उपाय अध्ययन गरेर कार्यान्वयनमा जानुपर्छ,” उनले भने।
उनको भनाइपछि पनि सांसद तामाङले जर्मनीको अभ्यास पुनः दोहोर्याउँदै वैकल्पिक उपायमा जोड दिएकी थिइन्। बैठकमा यस विषयमा केहीबेर सवाल-जवाफ चलिरहेपछि अन्ततः सभापतिले छलफललाई संयमित बनाएका थिए।






