काठमाडौं । एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा दुई हजार १५४ जना प्रत्यक्ष निर्वाचित भएर आउने छन् । एक सय आठजना प्रतिनिधि मनोनीत हुनेछन् । प्रतिनिधि र सहभागी गरी महाधिवेशनमा दुई हजार ६१३ जना सहभागी हुनेछन्।

एमाले संगठन विभागका प्रमुख काशीनाथ अधिकारीका अनुसार तत्कालीन एकीकृत समाजवादीलाई लक्षित गरेर एमालेले सुरु गरेको घरफर्क अभियानबाट आउनेमध्येबाट समेत तीनजनाले प्रतिनिधि हुन पाउँ भनी निवेदन दिएका छन् ।

ADVERTISEMENT

अधिकारीका अनुसार प्रतिनिधि छनोटमा धनकुटा र ओखलढुंगा जिल्लामा देखिएको समस्या पनि समाधान भइसकेको छ । प्रतिनिधि निर्वाचित भएर आएका कतिपयको हकमा पनि मापदण्ड नपुगेको भन्ने उजुरी र गुनासोका आधारमा छानविन भइरहेको छ ।

ADVERTISEMENT

एमालेको महाधिवेशन बन्दसत्र हलमा प्रतिनिधिबाहेक थप ३५१ जना सदस्य सहभागीका रुपमा प्रवेश गर्दैछन्। उनीहरु सल्लाहकार परिषद्का सदस्यहरु हुन्।

सल्लाहकार परिषदमा ३७६ जना सदस्य रहेकोमा २५ जना प्रतिनिधि निर्वाचित भएर आएका छन्। प्रतिनिधि हुन नसकेकाहरुलाई महाधिवेशनमा सहभागीका रुपमा प्रवेश गर्ने व्यवस्था मिलाइएको एमालेले जनाएको छ । विभागले दिएको जानकारीअनुसार महाधिवेशन प्रतिनिधिहरुको परिचय पत्र छपाइको काम पनि धमाधम भइरहेको छ ।

ADVERTISEMENT