काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्ने भएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्नैपर्ने कारणसहितको लिखित धारणा शीतल निवास पठाएपछि पौडेलले सम्भवतः मंगलबार नै अध्यादेश जारी गर्ने भएका हुन् ।

प्रधानमन्त्रीको लिखित टिप्पणीपछि राष्ट्रपति उक्त अध्यादेश जारी गर्ने निष्कर्षमा पुगेको बताइन्छ । राष्ट्रपति पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरले पनि आजै अध्यादेश जारी हुनसक्ने बताएका छन् ।

ADVERTISEMENT

‘मंगलबार बिहान १० बजेपछि अध्यादेश राष्ट्रपतिसमक्ष पेस हुन्छ । त्यसपछि उहाँले अध्ययन गरेर निर्णय गर्नुहुन्छ । सम्भवतः आजै टुंगो लाग्छ,’ उनले भने, ‘अब संसद्को अधिवेशन सुरु हुने वेला भयो । फर्केर आइसकेपछि रोक्ने कुरा छैन । एकपटकको निम्ति विचार गर्न पठाएको हो, सधैँ पठाउने कुरा भएन ।’

ADVERTISEMENT

कार्यकारीबाट दोहोर्‍याएर आएपछि राष्ट्रपतिले होल्ड गर्नु संवैधानिक कर्तव्य र नैतिकता विपरीत हुने भन्दै जारी गर्ने निष्कर्षमा राष्ट्रपति पुगेको बुझिएको छ । संविधान तथा कानुनविद्हरुले पनि पुनः आएको अध्यादेश रोक्न नमिल्ने राय यसअघि नै राष्ट्रपतिलाई दिइसकेका छन् । उनीहरूले प्रधानमन्त्रीले अडान लिएमा सरकार प्रमुख नै जिम्मेवार हुने सुझाव दिएका थिए ।

राष्ट्रपति पौडेलले आइतबार अध्यादेशका प्रावधान संविधान र बहुमतीय प्रणालीको अभ्यासविपरीत रहेको भन्दै पुनर्विचार गर्न मन्त्रिपरिषद्लाई फिर्ता पठाएका थिए । तर, सरकारले राष्ट्रपतिको चासो सम्बोधन नगरी हुबहु शीतलनिवास पठाएको छ ।

ADVERTISEMENT

मन्त्रिपरिषद्ले १४ वैशाखमा संवैधानिक परिषद्सहित आठवटा अध्यादेश सिफारिस गरेको थियो । तीमध्ये सातवटा अध्यादेश राष्ट्रपति पौडेलले जारी गरिसकेका छन् भने संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा भने उनले असहमति जनाएका थिए ।