काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म उल्लेख्य वित्तीय सुधार देखाएको छ । बैंकले सार्वजनिक गरेको विवरणअनुसार नाफा, व्यवसाय विस्तार र कर्जाको गुणस्तर तीनवटै क्षेत्रमा सकारात्मक प्रगति भएको छ ।

चैत मसान्तसम्म बैंकले २ अर्ब ३ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३.३६ प्रतिशतले बढी हो । बैंकको नाफा वृद्धिमा कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याइने इम्पेयरमेन्ट चार्ज घट्नु मुख्य कारण बनेको छ । गत वर्ष ३ अर्ब १९ करोड रहेको यस्तो खर्च यस वर्ष घटेर ३ अर्ब १ करोड रुपैयाँमा सीमित भएको छ ।

ADVERTISEMENT

बैंकको निक्षेप संकलन उल्लेख्य रूपमा बढेको छ । असार २०८२ मा ३ खर्ब ६७ अर्ब ५ करोड रहेको निक्षेप चैत मसान्तसम्म बढेर ४ खर्ब ३ अर्ब ९५ करोड पुगेको छ । त्यस्तै, कर्जा प्रवाह पनि २ खर्ब ७४ अर्ब ९६ करोडबाट बढेर ३ खर्ब २ अर्ब ९६ करोड पुगेको छ । सीडी रेसियो ७७.०४ प्रतिशत कायम रहनुले बैंकसँग थप कर्जा विस्तार गर्न पर्याप्त तरलता रहेको देखिन्छ ।

कर्जा गुणस्तरमा पनि सुधार देखिएको छ । कुल निष्क्रिय कर्जा (ग्रस एनपीएल) ५.८६ प्रतिशतबाट घटेर ५.२९ प्रतिशतमा झरेको छ भने खुद एनपीएल २.०७ प्रतिशतबाट १.३९ प्रतिशतमा आएको छ । यसले बैंकको ऋण असुली प्रक्रिया प्रभावकारी रहेको संकेत गर्छ ।

ADVERTISEMENT

त्यसैगरी, बैंकको आधार दर ६.७२ प्रतिशतबाट घटेर ५.२० प्रतिशतमा झरेको छ, जसले ऋणीहरूलाई सस्तो ब्याजदरमा कर्जा प्राप्त गर्ने अवसर दिएको छ ।बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ८.०५ रुपैयाँबाट बढेर १०.१५ रुपैयाँ पुगेको छ भने इक्विटीमा प्रतिफल (आरओई) पनि ५.२८ प्रतिशतबाट बढेर ५.८९ प्रतिशत कायम भएको छ । प्रतिसेयर नेटवर्थ १७५.०८ रुपैयाँ र पीई रेसियो २१.२४ गुणा रहेको छ ।

यद्यपि, बैंकको वितरणयोग्य नाफा भने सीमित रहेको छ । हालसम्मको सञ्चित नाफा ५१ करोड ६१ लाख रुपैयाँ भए पनि वितरणयोग्य नाफा ११ करोड ४५ लाख मात्र रहेको छ । यसका कारण बैंकको लाभांश क्षमता गत वर्षको ३.१७ प्रतिशतबाट घटेर १.९३ प्रतिशतमा झरेको छ ।