काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म उल्लेख्य वित्तीय सुधार गर्दै खुद नाफा र प्रतिशेयर आम्दानी (इपीएस) दुबैमा वृद्धि गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा २ अर्ब १ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.७८ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६६ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको थियो । यस वर्ष नाफा वृद्धिमा खुद ब्याज आम्दानीमा भएको सामान्य वृद्धि र इम्पेयरमेन्ट चार्ज घट्नु प्रमुख कारण बनेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.०४ प्रतिशतले वृद्धि भएको छ भने खुद फि तथा कमिशन आम्दानी १७.४५ प्रतिशतले बढेको छ । कुल सञ्चालन आम्दानी ८.२५ प्रतिशतले बढ्दा सञ्चालन मुनाफा २३.४५ प्रतिशतले वृद्धि भएको छ । इम्पेयरमेन्ट चार्ज घटेर २ अर्ब ३ करोड ५४ लाख रुपैयाँमा सीमित भएपछि बैंकको सञ्चालन मुनाफा उल्लेख्य रूपमा बढेको हो ।
यस अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९९ करोड ९४ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २० रुपैयाँ ९८ पैसा कायम भएको छ ।
बैंकको प्रतिशेयर आम्दानी (इपीएस) २ रुपैयाँ ४९ पैसाले बढेर १७ रुपैयाँ ६२ पैसा पुगेको छ । चैत मसान्तसम्म बैंकको प्रतिशेयर नेटवर्थ २१६ रुपैयाँ ७३ पैसा र मूल्य–आम्दानी अनुपात (पीई रेसियो) २२.२५ गुणा रहेको छ ।
साढे ३ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्दै बैंकले चुक्ता पुँजी १८ अर्ब २९ करोड रुपैयाँ पुर्याएको छ । बैंकको जगेडा कोषमा १७ अर्ब २६ करोड रुपैयाँ सञ्चित रहेको छ ।
बैंकले चैत मसान्तसम्म ३ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ ।समग्रमा बैंकको नाफा, सञ्चालन नाफा र आम्दानी सूचकहरूमा सुधार देखिएको छ।