काठमाडौं । कुमारी बैंकले चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म उल्लेख्य वित्तीय सुधार गर्दै खुद नाफामा उच्च वृद्धि गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले ४ अर्ब १७ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १३६१.७६ प्रतिशतले बढी हो ।
बैंकको नाफामा आएको तीव्र वृद्धिको प्रमुख कारण इम्पेयरमेन्ट चार्जमा आएको ठूलो गिरावट हो । गत वर्ष ५ अर्ब १६ करोड ७१ लाख रुपैयाँ रहेको यस्तो खर्च चालू आवमा ६९.६८ प्रतिशतले घटेर १ अर्ब ५६ करोड ६९ लाख रुपैयाँमा झरेको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ८९ करोड ६५ लाख रुपैयाँबाट १७.८० प्रतिशतले बढेर ९ अर्ब ३० करोड २२ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, कुल सञ्चालन आम्दानी पनि १० अर्ब ४९ करोड ५९ लाख रुपैयाँबाट २२.०८ प्रतिशतले वृद्धि हुँदै १२ अर्ब ८१ करोड ३० लाख रुपैयाँ पुगेको छ ।
नाफा बढेसँगै बैंकको सञ्चालन मुनाफा पनि उल्लेख्य रूपमा वृद्धि भएको छ । अघिल्लो वर्ष ८५ करोड ८३ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा ६५७.८० प्रतिशतले बढेर ६ अर्ब ५० करोड ४९ लाख रुपैयाँ पुगेको छ ।
यद्यपि, बैंकको वितरणयोग्य मुनाफा भने अझै ऋणात्मक अवस्थामा रहेको छ । गत वर्ष चैतसम्म ६ अर्ब ५० करोड ३ लाख रुपैयाँ ऋणात्मक रहेको वितरणयोग्य मुनाफा यस वर्ष घटेर १ अर्ब ९८ करोड ९५ लाख रुपैयाँ ऋणात्मकमा सीमित भएको छ ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १.४५ रुपैयाँबाट बढेर २१.२४ रुपैयाँ पुगेको छ भने खराब कर्जा (एनपीएल) ६.९८ प्रतिशतबाट सामान्य घटेर ६.९४ प्रतिशतमा झरेको छ । प्रतिसेयर नेटवर्थ १५८.५३ रुपैयाँ र आधार दर ५.३५ प्रतिशत कायम रहेको छ ।
२६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १७ अर्ब ३३ करोड ८४ लाख रुपैयाँ सञ्चित रहेको छ । बैंकले चैत मसान्तसम्म ३ खर्ब ८१ अर्ब ६६ करोड ६६ लाख रुपैयाँ निक्षेप संकलन गरेको जनाएको छ ।








