काठमाडौं। काठमाडौंको मनोहरा किनारमा रहेको सुकुम्वासी बस्ती आज भत्काउन थालिएको छ। काठमाडौं महानगरपालिकाको नेतृत्वमा डोजर परिचालन गरी बस्ती हटाउने कार्य अघि बढाइएको हो।
कागेश्वरी मनोहरा नगरपालिका–८ अन्तर्गत गोठाटार बुद्धचोक र वडा नम्बर ९ को मनोहरा टोलमा रहेका बस्तीहरू खाली गराएर भत्काउने तयारी गरिएको हो। बिहानैदेखि उक्त क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ र अवस्था तनावपूर्ण बनेको छ।
यसअघि शनिबार नै बस्ती खाली गराउने तयारी गरिएको भए पनि स्थानीयको विरोधका कारण प्रक्रिया रोकिएको थियो। राति महानगर र प्रहरी टोली बस्ती क्षेत्रमा पुगे पनि डोजरमाथि ढुंगामुढा भएपछि टोली फर्किएको थियो। त्यसपछि आज थप सुरक्षा व्यवस्था मिलाएर पुनः अभियान सुरु गरिएको हो।
प्रशासनले सार्वजनिक जग्गामा रहेको अनधिकृत बस्ती हटाउने अभियानअन्तर्गत मनोहरामा पनि कार्य अघि बढाएको जनाएको छ। यसअघि थापाथली र गैरीगाउँस्थित सुकुम्वासी बस्ती खाली गरिसकिएको छ।
मनोहरा क्षेत्रमा भने स्थानीयको विरोधका कारण स्थिति संवेदनशील बनेको छ। बस्ती हटाउने क्रममा सुरक्षाकर्मी र स्थानीयबीच झडपको सम्भावना रहेकाले सतर्कता अपनाइएको छ।
महानगरले नदी किनार र सार्वजनिक जग्गामा बनेका अनधिकृत संरचना हटाउने नीति अनुसार अभियान सञ्चालन गरिरहेको जनाएको छ। तर प्रभावित बस्तीका बासिन्दाले भने वैकल्पिक व्यवस्थापन बिना हटाउन खोजिएको भन्दै विरोध जनाउँदै आएका छन्।
अहिले बस्ती क्षेत्रमा डोजर, प्रहरी र प्रशासनिक टोलीको उपस्थिति बाक्लो देखिएको छ। बस्ती हटाउने कार्य जारी रहेकाले त्यस क्षेत्रको अवस्था तनावग्रस्त रहेको बताइएको छ।
यस घटनाले काठमाडौं उपत्यकामा सुकुम्वासी व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। दीर्घकालीन समाधान, पुनःस्थापना र मानवीय व्यवस्थापनका विषयमा बहस बढिरहेको छ।












