काठमाडौं । शंकर पोखरेल ले सुकुमवासी समस्याको समाधानमा सरकार संवेदनशील र मानवीय बन्नुपर्ने बताएका छन्। शनिबार बिहानदेखि उपत्यकाका विभिन्न सुकुमवासी बस्ती खाली गराउने कार्य सुरु भएको सन्दर्भमा उनले यस्तो टिप्पणी गरेका हुन्।
थापाथली आसपासका बस्तीहरू खाली गराइसकिएको अवस्थामा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पोखरेलले वर्षौंदेखि बसोबास गर्दै आएका श्रमिकहरूको पीडालाई पनि सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्। उनले जबरजस्ती विस्थापित भएका नागरिकहरूको आँखामा देखिएको वेदना र असुरक्षालाई बेवास्ता गर्न नहुने उल्लेख गरे।
‘अदृष्य त्रास र आतंकको छायाँमा आदेश पालना भयो भनेर मात्र खुसी मनाउनु पर्याप्त हुँदैन,’ उनले भने, ‘यी श्रमिकहरूको पसिनाले शहर विकास भएको हो। आज उनीहरूलाई विस्थापित गरिँदा उनीहरूको पीडा बुझ्नु जरुरी छ।’
पोखरेलले सुकुमवासी तथा अव्यवस्थित बसोबासको समस्या समाधानका लागि पूर्व सरकारले भूमि आयोगमार्फत प्रक्रिया अघि बढाएको स्मरण गराउँदै वर्तमान सरकारले त्यसलाई निरन्तरता दिँदै न्यायोचित समाधान दिनुपर्ने धारणा राखे।
उनले जनताको विश्वास जितेको वर्तमान सरकार, विशेषगरी महानगर नेतृत्वले मानवीय आधारमा समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए। साथै, उनले विश्वास गुमाएका नागरिकको असन्तोष भविष्यमा गम्भीर रूप लिन सक्ने चेतावनी पनि दिएका छन्।
‘विश्वास टुटेका मानिसहरूको विद्रोह कति विस्फोटक हुन सक्छ भन्ने कुरा सबैले बुझ्नुपर्छ,’ उनले उल्लेख गरेका छन्।
पोखरेलले अन्त्यमा सुकुमवासीहरूको वेदना सम्बोधन गर्दै दीर्घकालीन र सम्मानजनक पुनर्वासको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।