सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम कर्णाली प्रदेश अधिवेशन सुरु भएसँगै प्रतिनिधि छनोटलाई लिएर विवाद चर्किएको छ। अधिवेशनमा सहभागी प्रतिनिधिहरूको वैधतामाथि प्रश्न उठाउँदै निर्वाचन समितिमा औपचारिक उजुरी दर्ता गरिएको छ।

महामन्त्री भूपदेव शाह र सहमहामन्त्री वीपिन आचार्यले उद्घाटन गरेको अधिवेशनमा प्रदेशभरबाट ५३० प्रतिनिधि सहभागी भएको दाबी गरिएको थियो। तर प्रदेश सभापतिका आकांक्षी दैलेखका नन्दकिशोर बस्नेत (एनके) लगायतले तीमध्ये करिब ३०० जना प्रतिनिधि ‘नक्कली’ रहेको आरोप लगाउँदै निर्वाचन समितिमा उजुरी दिएका हुन्।

ADVERTISEMENT

उजुरीमा प्रतिनिधिहरूको सदस्यता, योग्यता तथा छनोट प्रक्रियाको वैधतामाथि प्रश्न उठाइएको छ। बस्नेतले अधिवेशनका लागि छनोट गरिएका प्रतिनिधिहरूको योग्यता र प्रक्रियाको निष्पक्षताबारे दाबी–विरोधसहित उजुरी परेको जानकारी दिए।

विवादपछि निर्वाचन समिति संयोजक विपी दाहालले सूचना जारी गर्दै विभिन्न विभागबाट छनोट भएका प्रतिनिधिहरूको सत्यतथ्य पुष्टि गर्न पार्टी सदस्यता लिएको मिति र सम्बन्धित विभागमा नियुक्ति भएको प्रमाणसहितका कागजात माग गरिएको बताए।

ADVERTISEMENT

‘प्रतिनिधि नामावलीमा दाबी–विरोध र उजुरी परेपछि आवश्यक प्रमाण संकलन गरेका थियौँ। सबै उजुरीमाथि अध्ययन सम्पन्न भइसकेको छ,’ दाहालले भने, ‘उजुरीमा उल्लेख गरिएअनुसार गम्भीर समस्या भेटिएको छैन। केही प्राविधिक त्रुटि हुन सक्छन्, तर मूल विषय समाधान भएको छ।’

उनले अधिवेशनमा सहभागी प्रतिनिधिको अन्तिम संख्या ५ सयभन्दा बढी हुने अनुमान गर्दै छिट्टै अन्तिम नामावली सार्वजनिक गरी निर्वाचन कार्यतालिका समेत जारी गरिने जानकारी दिए।

यता प्रतिनिधिहरूले उद्घाटन सत्र सम्पन्न भएको तीन घण्टाभन्दा बढी समय बितिसक्दा पनि बन्दसत्र सुरु नभएको भन्दै असन्तुष्टि जनाएका छन्। अधिवेशनको व्यवस्थापन र प्रक्रियागत ढिलाइप्रति प्रतिनिधिहरूले गुनासो गर्न थालेपछि पार्टीभित्रको विवाद थप चर्किएको छ।