काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक डिल्लीराम प्रसाईले नभएको विद्यावारिधि (पीएचडी) उपाधि दाबी गरी सह–परीक्षा नियन्त्रक पद हासिल गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ।
प्रसाईसँग मिलेमतो गरेको आरोपमा सह–परीक्षा नियन्त्रक छनोट समितिका तीन सदस्य प्रा.डा. जया लक्ष्मी प्रधान, प्रा.डा. मोतीलाल शर्मा र प्रा.डा. मेघराज पोख्रेललाई पनि अभियुक्त बनाइएको छ। आयोगका अनुसार त्रिवि क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका लागि सह–परीक्षा नियन्त्रक नियुक्ति प्रक्रियामा प्रसाईले नक्कली शैक्षिक प्रमाणपत्र प्रस्तुत गरी अवैध रूपमा पद, हैसियत र सुविधा पाएको अनुसन्धानमा खुलेको छ।
प्रसाईले विद्यावारिधि अन्तिम मौखिक परीक्षा सम्पन्न भए पनि शोधपत्र परिमार्जन नभएकाले उपाधि नपाएको पुष्टि भएको अनुसन्धानमा देखिएको छ । तर उनले आवेदन र प्रमाणपत्रमा ‘डा.’ उपाधि प्रयोग गर्दै पदमा लाभ लिएका थिए। चयन समितिले बदनियतपूर्वक मूल्यांकन परिणाम परिवर्तन गरी प्रसाईलाई पहिलो स्थानमा सिफारिस गरेको उजुरी अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ।
आयोगले प्रसाईमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ अनुसार र चयन समितिका सदस्यमाथि दफा १३ र १९९२० अनुसार दण्ड सजाय माग गरेको छ। प्रसाईले झुटा विवरण पेश गरी पद र सुविधा प्राप्त गरेको मुख्य कसूरको रूपमा दफा २२ बमोजिम ‘मतियार’ भूमिकामा पनि अतिरिक्त सजायको माग गरिएको छ।







