काठमाडौं । बीमा कम्पनीहरूमा रोजगार पाउनेको संख्या बढ्दै गएको देखिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनी र १४ वटा निर्जीवन बीमा कम्पनीसहितका कुल २८ वटा बीमा कम्पनीहरूमा मात्र १२ हजार तीन सय ३६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

यो संख्या गत आवको सोही अवधिको तुलनामा एक दशमलव ९९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बीमा कम्पनीहरूमा कुल १२ हजार ९५ जनाले प्रत्यक्ष रोजगारी पाएका थिए ।

ADVERTISEMENT

प्राधिकरणका अनुसार चालू आवको फागुन मसान्तसम्मा जीवन बीमा कम्पनीहरूमा मात्र कुल ६ हजार ८३ जनाले रोजगारी पाएका छन् । यो संख्या गत आवको सोही अवधिको तुलनामा शून्य दशमलव १५ प्र्रतिशतले बढी हो । गत आवको सोही अवधिमा जीवन बीमा कम्पनीहरूमा मात्र कुल ६ हजार ७४ जनाले रोजगारी पाएका थिए ।

यसैगरी, निर्जीवन बीमा कम्पनीहरूमा रोजगारी पाउनेहरूको संख्या भने चालू आवको फागुन मसान्तसम्ममा ६ हजार दुई सय ६३ रहेको छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा तीन दशमलव ८५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरूमा रोजगारी पाउनेहरूको संख्या ६ हजार २१ रहेको थियो ।

ADVERTISEMENT

चालू आवको फागुन मसान्तसम्ममा बीमा कम्पनीहरूको कुल कार्यालय संख्या भने दुई हजार नौ सय ९९ रहेको छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा शून्य दशमलव २३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बीमा कम्पनीहरूको कुल कार्यालय संख्या दुई हजार नौ सय ९२ रहेको थियो ।

प्राधिकरणका अनुसार बीमा कम्पनीहरूको कुल कार्यालय संख्यामध्येमा चालू आवको फागुन मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूको कूल कार्यालय संख्या १८ सय ४५ रहेको छ भने निर्जीवन बीमा कम्पनीहरूको कुल कार्यालय संंख्या ११ सय ५४ छ । गत आवको सोही अवधिमा यस्तो संख्या क्रमशः १८ सय ४५ र ११ सय ४७ थियो ।

प्राधिकरणका अनुसार चालू आवको फागुन मसान्तसम्ममा बीमाको दायरामा आएको कूल जनसंख्या प्रतिशत भने ४९ दशमलव ९२ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा यस्तो संख्या ४४ दशमलव १७ प्रतिशत रहेको थियो । प्राधिकरणका अनुसार बीमाको दायरामा आएका कूल जनसंख्या प्रतिशतमा म्यादी, लघुम्यादी, वैदेशिक रोजगार जीवनलेखसहितका सबै संख्या समेटिएका छन् ।

बीमा विज्ञ भन्छन्– रोजगारी बढ्नु मुलुकको समग्र अर्थतन्त्रका लागि राम्रो

बीमा विज्ञहरूका अनुसार बीमा कम्पनीहरूमा रोजगारी बढ्नुले अर्थतन्त्रमा धेरै नै सकारात्मक प्रभाव पार्छ । रोजगारी बढ््नु भनेको केवल व्यक्तिहरूले काम पाउनु मात्र होइन, समग्र आर्थिक गतिविधि विस्तार हुनु पनि हो । जब बीमा कम्पनीहरूले नयाँ कर्मचारी भर्ना गर्छन्, तब बेरोजगारी दर घट्छ र मानिसहरूको आयस्तर बढ्छ । यसले उपभोग क्षमता वृद्धि गराउँछ, जसका कारण बजारमा माग बढ्छ र उत्पादन तथा सेवा क्षेत्रले पनि प्रोत्साहन पाउँछन् ।

अर्कोतर्फ बीमा कम्पनीहरूले संकलन गर्ने प्रिमियम रकम दीर्घकालीन लगानीका लागि प्रयोग गरिन्छ । रोजगारी बढेसँगै बीमा सेवाको पहुँच पनि विस्तार हुन्छ, जसले थप मानिसहरूलाई जोखिम व्यवस्थापनमा सहभागी बनाउँछ । यसले आर्थिक स्थायित्व मजबुत बनाउँछ, किनकि आकस्मिक क्षतिबाट हुने आर्थिक हानी नोक्सानी कम हुन्छ । यसअर्थमा बीमा क्षेत्रमा रोजगारी वृद्धि हुनु आर्थिक विकासको सूचक पनि हो । यसले वित्तीय प्रणालीलाई बलियो बनाउनुका साथै दीर्घकालीन आर्थिक वृद्धिमा योगदान पुर्याउँछ ।