काठमाडौं । सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूमा सक्रिय रहेको जीवन बीमालेख संख्या एक करोड १७ लाख नाघेको छ । नेपाल बीमा प्राधिकरणले बुधबार सावर्जनिक गरेको जीवन बीमा कम्पनीहरूको चालू आर्थिक वर्षको जेठ महिनासम्मको मासिक प्रतिवेदनअनुसार यस अवधिमा सक्रिय रहेको जीवन बीमालेख संख्या एक करोड १७ लाख ३७ हजार दुई सय ९८ पुगेको हो ।
प्राधिकरणका अनुसार यस अवधिमा कुल बीमाशुल्क आर्जन रकम भने एक खर्ब ७३ अर्ब ५० करोड ७६ लाख रुपैंयाँ पुगेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा १२ दशमलव ६२ प्रतिशत अर्थात् १८ अर्ब ९९ करोड ८४ लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा जीवन बीमा कम्पनीहरूले कुल एक खर्ब ५४ अर्ब पाँच करोड ९२ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेका थिए ।
चालू आवको जेठ मसान्तसम्ममा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले कुल १० अर्ब ६२ करोड १० लाख २१ हजार रुपैयाँ कुल जीवन बीमाशुल्क आर्जन गर्दा निजी क्षेत्रद्वारा सञ्चालित नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले २२ अर्ब २१ करोड १६ लाख ७४ हजार रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेको छ ।
यस अवधिमा नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन र मेट लाइफले भने क्रमशः ४६ अर्ब १६ करोड ४३ लाख ८२ हजार, १८ अर्ब ४८ करोड ३५ लाख ६१ हजार र ६ अर्ब १० करोड ६५ लाख ५८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । एसियन लाइफ, आईएमई लाइफ र सन् नेपाल लाइफले पनि यस अवधिमा क्रमशः आठ अर्ब ७१ करोड ५१ लाख ११ हजार, छ अर्ब १७ करोड ५९ लाख ६४ हजार र तीन अर्ब ८३ करोड ५८ लाख ८१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको प्राधिकरणको भनाइ छ ।
चालू आवको जेठ मसान्तसम्ममा रिलायवल नेपाल लाइफ, सिटिजन लाइफ सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले क्रमशः पाँच अर्ब ४१ करोड सात लाख ५२ हजार, सात अर्ब ५९ करोड ६५ लाख ७२ हजार र १० अर्ब ५२ करोड ५० लाख ९३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
सानिमा रिलायन्स, हिमालयन र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालू आवको पछिल्लो ११ महिनाको अवधिमा क्रमशः ६ अर्ब ६४ करोड ४२ लाख ५२ हजार, १५ अर्ब ७९ करोड ४३ लाख ७६ हजार र पाँच अर्ब २२ करोड ३३ लाख ५९ हजार रुपैंयाँ कुल जीवन बीमाशुल्क आर्जन गरेको प्राधिकरणले जनाएको छ ।







